धरान : मङ्गलवार साँझ आएको हावा हुरीले धरान सहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा विद्युत् अवरुद्ध भएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र धरान शाखाका प्रमुख प्रताप बरालका अनुसार धरान हुँदै पहाडी क्षेत्रमा जाने मुख्य बिजुलीको प्रसारण लाइनको तार चुडीएको छ भने धरान उपमहानगरपालिका भित्र मात्रै १५ वटा बिजुलीका पोल भाँचिएका छन् ।

धरान ८ को रेडियो नेपाल नजिकै पुरै तार चुडीएको छ । जङ्गलमा पनि केही ठाउँमा समस्या आएको नेपाल विद्युत् प्राधिकरण वितरण शाखा धरानले जनाएको छ ।

जङ्गल लगायत केही स्थानमा सानो तिनो समस्या समाधान गरेर विद्युत् सञ्चालनमा ल्याउन प्रयास भइरहेको भए पनि धरानका केही भाग र पहाडी जिल्लामा भने मङ्गलवार राति विद्युत् सुचारु हुन नसक्ने प्रमुख प्रताप बरालले बताएका छन् । धरानका केही भागमा विद्युत् सुचारु भए पनि सबै ठाउँमा सुचारु गर्न समय लाग्ने प्रमुख बरालले बताएका छन् ।