धरान : भारतका विभिन्न स्थानबाट धरान आई सिलाइ गर्दै आएका ९६ जना मजदुरहरूलाई जोगवनी नाका र काँकडभिट्टा नाकाबाट भारत पठाइएको छ ।

धरान उपमहानगरपालिकाको संयोजन र इलाका प्रहरी कार्यालयको सहजीकरणमा धरानका विभिन्न ठाउँमा कार्यरत ९६ जना मजदुरहरूलाई बिहीबार भारत पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार ६९ जनालाई जोगवनी नाका र २७ जनालाई काँकडभिट्टा नाका हुँदै पठाइएको छ ।

बिहीबार ११ बजे देखि ५ बजे सम्म भारतीय नाका खुल्ला भएको कारण भारतीय सरकारसँग समन्वय गरी धरानमा बसेर विभिन्न ठाउँमा सिलाई मजदुरी गर्दे आएकाहरूलाई भारत पठाइएको धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारी सुबेदीले जानकारी दिइन् । उनका अनुसार उनीहरू आफैले गाडी रिर्जव गरेका थिए र उनीहरूलाई पठाउन मात्रै प्रहरीले समन्वय गरेको थियो ।

लकडाउन बढ्दै गएकोले तीन महिनादेखि कामविहीन बनेपछि उनीहरूलाई आफ्नो घर भारत पठाइएको हो ।

Bharatiya-silai-Majdur-1