धरान : पश्चिम रुकुमको चौरजहारीमा सामूहिक दलित युवाहरूको हत्या गरेको विरोधमा राष्ट्रिय दलित पत्रकार सङ्घ सुनसरीले दिउँसै मैनबत्ती बालेर कानुन कार्यान्वयनमा अँध्यारो कुनामा बसेको सरकारको ध्यानाकर्षण गराएका छन् ।

सङ्घको केन्द्रीय समितिले जारी गरेको निर्देशन अनुसार सुनसरीको कार्यसमितिले धरान स्थित इलाका प्रशासन कार्यालयको मूल गेटमा मृतकहरूलाई श्रद्धाञ्जली दिर्दै विभेद विरुद्धको कानुनलाई अक्षरश पालना गराउन सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घको निर्देशन अनुसार देशका ७७ वटै जिल्ला सङ्गठनहरूले पायक पर्ने जिल्लाका प्रशासन कार्यालय अघि शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । 

सङ्घका प्रदेश समिति सचिव रणध्वोज लोहारको अगुवाइमा गएको शान्तिपूर्ण विरोध कार्यक्रममा धरानका करिब दर्जन संघसंस्थाहरुले ऐक्यबद्धता जनाएका छन् । धरान स्थित इलाका प्रशासन कार्यालयको गेट बाहिर मृत्यु भएका ५ जनाको फोटोमा श्रद्धाञ्जली दिँदै उनीको आत्माको चिर शान्तिको कामना गर्दै मैनबत्ती बालिएको थियो ।

सङ्घको आयोजनामा भएको शान्तिपूर्ण आन्दोलनमा दिउँसै मैनबत्ती बालेर अँध्यारोमा रहेको सरकारको ध्यानाकर्षण गराएको सङ्घका सुनसरी अध्यक्ष दिनेश गजमेरले बताए । उनले भने, ‘दलितहरूमाथि हुने घटनामा सरकार अझै पनि अँध्यारोमै रुमल्लिइरहेको छ, त्यसैले दिउँसै बत्ती बालेर सरकारको ध्यानाकर्षण गराइएको हो । चौरजहारीको घटनामा कानुनी प्रक्रिया अगाडि बढाउन पनि माग गरेका छौँ ।’

बेपत्ता र शव भेटिएका ६ जनाको मृत्युमा मौन धारण सहित हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको उनले बताए । हालसम्म यो घटनामा ६ जना बेपत्ता बने पनि ५ जनाको मात्रै शव फेला परेको छ ।

विरोध कार्यक्रममा नेकपाका धरान नगर इन्चार्ज चोत्लुङ, नेपाली काँग्रेसका नगर सचिव श्याम पोखरेल, फोनिजका प्रदेश सल्लाहकार जनकऋषि राई, विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष लालबहादुर सुन्च्येरी लगायतले श्रद्धाञ्जली दिँदै पिडकलाई कारवाहीको माग गरेका छन् । उनीहरूले पीडितहरूलाई कानुनी प्रक्रिया अनुसार कारबाही नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

सङ्घले आयोजना गरेको विरोध कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरी, नेपाल फोटो पत्रकार महासङ्घ सुनसरी, किराँत राई पत्रकार सङ्घ सुनसरी, क्रिश्यिचन पत्रकार सङ्घ केन्द्रीय समिति, क्रिश्चियन समाज सहित दलित विकाश समिति साथमा समितिमा आबद्ध रहेका जातीय सङ्गठनहरूले ऐक्यबद्धता जनाएका छन् ।

घटनामा संलग्नहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग राखिएको छ । हालसम्म घटनामा संलग्न भएको आशङ्कामा एक वडाध्यक्ष सहित १८ जनालाई नियन्त्रणमा लिइसकेको छ भने २ जना फरार छन् । पीडित पक्षले २० जना विरुद्ध उजुरी दिएका थिए । सरकारले पनि गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिसकेको छ । समितिले सत्य तथ्य छानबिन गर्दै सरकारलाई प्रतिवेदन बुझाए अनुसार पिडकलाई कारबाही प्रक्रिया अघि बढ्नेमा आशावादी रहेको इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्र कार्कीले बताए ।

मल्ल थरकी युवती शुष्मा मल्ललाई लिन गएका युवाहरूमध्ये नवराज विक सहित ६ जना बेपत्ता बनेका थिए । जाजरकोटको भेरी नगरपालिका–४ का नवराज सहित १९ जनाको समूहमा गएका उनीहरूमाथि गाउँलेले आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ भने अर्को १ जना बेपत्ता छन् ।

Dalit-Ptrakar