धरान : धरानमा गत आइतबार देखि तोकिएको मापदण्ड पुराएर दुई सिफ्टमा बजार खोल्ने भनिए पनि अहिले सम्म धरानका खोलिएका पसलहरूमा अलिकति पनि मापदण्ड लागु गरिएको पाइँदैन ।

धरानमा बिहान ७ बजे देखि ९ बजे सम्म अत्यावश्यक सामानका पसलहरू खाद्यान्न, तरकारी लगायतका पसल खुल्ला गरिने र बिहान ९ बजे देखि दिउसो २ बजे सम्म भने आवश्यक पसलहरू मात्रै खोल्न दिने धरान उपमहानगरपालिकाका मेयर तिलक राई र सुनसरी उद्योग वाणिज्य सङ्घ बिच निर्णय भएको थियो । तर अहिले आएर धरान बजार पुर्णरुपमा जस्तै बजार खुल्ला हुन थालेको छ । कुनै सरोकारवाला निकायले बजारमा अनुगमन गरेको पाइँदैन । यसले गर्दा बजारमा पसलहरूले पनि न्युनतम् मापदण्ड पुरा नगरी पसल खुल्ला गरेका छन् । यसले गर्दा धरानमा सर्वसाधरणहरुको पनि उल्लेख्य भिड बढेको छ । यसरी दिनानुदिन बजारमा भिडभाड बढ्नु कोरोनाको उच्च जोखिम भएको चिकित्सकहरू बताउँछन् ।

धरानका केही डिपार्टमेन्ट स्टोरहरूले पुरै शरीरमा स्यानिटाईज गर्ने र थर्मल गनबाट ज्वरो नाप्ने गरेको छ । यस विषयमा चिकित्सकहरू भन्छन् जीउ भरी स्यानिटाईज गर्नु स्वास्थ्यमा झन् जोखिम हो । यसरी जीउ पुरै सेनिटाईज हुँदा कत्तिलाई श्वासप्रश्वास, एलर्जी जस्ता समस्याहरू देखिने हुन्छ । त्यसैले यसरी स्यानिटाईजर गरेर बजार खुलाउँदा कोरोनाको जोखिम कम हुँदैन । यसबारेमा स्थानीय सरकार र बजार हेर्ने नियममा निकायले विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाई छ ।

पछिल्लो समय कोरोना सङ्क्रमितहरू विना लक्षणका धेरै भेटिन थालेका छन् । हिजोको तुलनामा दिनानुदिन सङ्क्रमितको सङ्ख्या पनि बढी रहेको बेलामा यसरी बजार अव्यवस्थित तरिकाले खोलिनु ठुलो स्वास्थ्य चुनौती भएको स्वास्थ्य विज्ञहरू बताउँछन् । १ जना सङ्क्रमित देखिदा लकडाउन गर्ने सरकार अहिले हजारौँ सङ्क्रमित पुग्दा सरकारले छिन छिनमा गाइडलाइन फेर्नुले झन् जोखिम बढेको बताइन्छ । कहिले कोरोना सङ्क्रमितलाई कुनै लक्षण देखिएन भने घरैमा राख्ने र कहिले लक्षण देखिएकालाई मात्रै अस्पतालमा भर्ना गरेर लक्षण देखिन छाडेपछि उसको रिपोर्ट पोजेटिभ नै आए पनि अस्पतालबाट डिस्चार्ज गर्ने जस्ता कुराहरू सरकारबाट आइरहेकोले यसले भोलिका दिनमा ठुलो स्वास्थ्य सङ्कट निम्तिन सक्ने चिकित्सकहरू बताउँछन् ।

पछिल्लो समय सुनसरीकै कुरालाई उदाहरण लिने हो भने बराहक्षेत्र ७ की बालिका गाउँ छाडेर कहीँ कतै गएको ट्राभल हिस्ट्री छैन । यसबारेमा अहिले अध्ययन भइरहेको छ । यस्तै धरान १३ की कोरोना सङ्क्रमितमा पनि ट्राभल हिस्ट्री त्यस्तो कहीँ तत्कालै गएको पाइएन । तर पनि उनीमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । यसले गर्दा पनि कोरोना पछिल्लो समय समुदायमै पनि सङ्क्रमण भइसकेको हुन सक्ने चिकित्सकहरूको भनाई छ । यदि यस्तो अवस्थामा एक जना मात्रै सङ्क्रमित बजारमा खुलेआम हिँड्यो भने के होला ? यसले कस्तो जोखिम निम्तिन सक्छ ? यसबारेमा बेलैमा सचेत र सजगता अपनाउनुपर्ने देखिन्छ ।

बजार खोल्नका लागि निर्धारण गरिएको मापदण्डहरूलाई लागु गर्नका लागि सम्बन्धित निकायको ध्यान जानुपर्छ । भोलि बजारमा हिँडिरहेका १ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि होला त्यस बेला उत्पन्न हुने परिस्थिति के होला ? त्यसैले बजार खोलेर सर्वसाधारणको सहज होइन यसले झन् ठुलो दुर्घटना निम्तिन सक्छ । यसबारेमा स्थानीय निकायको ध्यान तुरुन्त जानुपर्ने स्वास्थ्य विज्ञहरूको भनाई छ ।

धरान बजार खोलिए पनि बजारमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भनिएको थियो । तर धरान बजारमा यति बेला निजी सवारी साधनहरूको पार्किङ मुख्य सडक किनारामा बाक्लै देखिन्छ । तर खोइ यहाँ सवारी साधनको बारेमा प्रहरीले कडाइ गरेको ?

यो सँगै धरान बजारको अनुगमन गर्ने र तोकिएको मापदण्ड लागु गराउने सुनसरी उद्योग वाणिज्य सङ्घले पनि खासै प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अवस्था छ । बजार खोल्नु र खुलाउनु मात्रै ठुलो कुरो होइन यसलाई व्यवस्थापन गर्न सक्नु पनि अर्को चुनौती यति बेला बनेको छ ।