धरान : धरान उपमहानगरपालिकाको वडानं. १४ को पञ्चकन्या जङ्गलमा खानेपानी टङ्कीको निर्माणको विषयलाई लिएर सामाजिक सञ्जालमा अनर्गल प्रचार गर्नेलाई १४ नम्बर वडाध्यक्षले साइबर क्राईमको मुद्दा लगाउने भएको छ ।

केही दिन अघि धरान-१४ कै हाल पोर्चुगलमा रहेका विजय चाम्लिङले धरानको विजयपुर स्थित पञ्चकन्या जङ्गलमा खानेपानीको टङ्की पुनः निर्माणका क्रममा १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, टङ्कीको पुनः निर्माण समितिका अध्यक्ष प्रभाव खतिवडाले प्रदेश सरकारबाट आएको ठुलै रकम हिनामिना गरेको आरोप लगाएर तस्बिर सहित पोस्ट गरेका थिए ।

व्यक्तिको फोटो सहित पटक-पटक गलत लेखेर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि संचारकर्मी र स्थानीय बासिन्दा,आफन्तले फोन गरी सोधखोज हुन थाल्नुका साथै मान मर्यादामा आच आएको भन्दै धरान वडा नं १४ मै बस्ने हाल विदेश पोर्चुगल रहेका विजय चाम्लिङलाई साइबर क्रार्ईम मुद्दा हाल्ने १४ नं का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई र उपभोक्ता समितिका अध्यक्ष प्रभाव खतिवडाले बताएका छन ।

विजय चाम्लिङले रकम हिनामिना भएको ढलाई नभएर लिपपोत गरेको भनी लेखेपछि स्थलगत निरीक्षण गरी हेर्दा पक्की ढलाइ र मार्बल सहित चूस्तदूरुस्त बनेको देखिन्छ । स्थानीय उपभोक्तहरुले पनि काम राम्रै भएको बताएका छन् । टोल विकास समितिका अध्यक्ष खिलनाथ खतिवडाले रकम हिनामिना नभएको दाबी गर्दै सरकारले बजेट टङ्की पुनः निर्माणको लागि दिएको हो । जग्गा खरिद भने आफै उपभोक्तहरुले गरेको बताइएको छ । 

पञ्चकन्या पर्यटन प्रवर्द्धन एंवम खानेपानी उपभोक्ता समितिका प्राविधिक इन्जिनियर विवेक अग्रवालले खानेपानीको टङ्की प्लास्टर फुटाएर एडो कम्पनीको वाटर प्रिफिङ गरी पुनः प्लास्टर पछि टाइल भित्र र टपमा लगाइएको, शौचालयमा ढोका , पल्ला लगाएर रंगरोगन गरी शौचालय र बाथरुममा वास मेसिन र युरिन समेत लगाइएको छ । बाँकी काम भनेको पाइपको हो तर लकडाउनले गर्दा पाइपको काम रोकिएको इन्जिनियर अग्रवालले जानकारी गराएका छन् । सामाजिक सञ्जालमा अनर्गल लेख्ने विजय चाम्लिङले भने आफूले स्थानीय युवाहरूबाट जानकारी पाएकोले मैले उल्लेख गरेको हुँ भनेका छन् ।