इटहरी : इटहरी उपमहानगरले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ ।

गाई पालन जोनका रूपमा निर्धारित १,२ र २० नम्बर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । शनिवार बिहान इटहरी २ का २५ जना कृषकलाई इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गरे । यसअघिकै अन्य दुई वडाका पचास जना कृषकलाई गाई वितरण गरिसकिएको छ ।

इटहरीलाई कृर्षिमा आत्मनिर्भर बनाउने अभियान अन्तर्गत कोरली गाई वितरण गरिएको प्रमुख चौधरीले बताए । कोरली गाई वितरण गरिएका ७५ जना कृषकलाई गाई पालक कृषक बनाउने र यो अभियानलाई निरन्तरता दिएर इटहरीलाई दूधमा आत्मनिर्भर बनाउने उपमेयर गौतमले बताइन । विपन्न कृषकले कोरली गाई पाएपछि खुसी व्यक्त गरेका छन् ।

इटहरी २ की यशोदा दाहालले भनिन् “किन्न सक्ने अवस्था थिएन उपमहानगरले कोरली गाई प्रदान गरेको छ खुसी लागेको छ उपमहानगरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।” इटहरी २ की अनिल कुमारी राईले उपमहानगरले प्रदान गरेको गाई पालन गरेर आयआर्जन गर्न सकिने आशा पलाएको बताइन् ।