धरान : सुनसरी सदरमुकाम इनरुवामा लागेको आगो ५ घण्टा बित्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन ।

इनरुवा नगरपालिकाको वडानं. १ मुख्य बजार क्षेत्रमा रहेको प्रितम अटलको हनुमान बस्त्रालयमा बिहान ५ बजे मर्निङवाक गर्ने सर्वसाधरणले धुवाँ देखेपछि आगलागी भएको थाहा भएको थियो । आगलागी स्थलमा धरानको २ वटा, दुहबीको १ वटा, इटहरीको १ वटा, सुन्दर हरैचाको १ वटा, बराहक्षेत्रको १ वटा दमकल गरी ६ वटा दमकल, सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानियबासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि ५ घण्टा बित्दा सम्म अझै आगो नियन्त्रणमा आउन नसकेको घटनास्थलमा रहेको पत्रकार शुकदेव चौधरीले बताए ।

उनका अनुसार हनुमान बस्त्रालयसंगै जोडिएको सिर्जना फाईन्समा आगोले पुरै क्षति पुर्‍याएको छ भने सप्तकोसी हार्डवेयरमा पनि केही क्षति पुर्‍याएको छ । अगडी पट्टिको सटरमा एक्स्काभेटर भत्काई दिएर आगो नियन्त्रणको प्रयास भए पनि भित्रको आगो भने अझै नियन्त्रणमा आउन सकेको छैन ।

हनुमान बस्त्रालय रहेको घर तीन तले भएको र लम्बाइ लामो भएकोले भित्र आगो नियन्त्रण हुन नसकेको प्रहरीले बताएको छ । बिहान ५ बजे आगो लागेको थाहा पाएपछि हनुमान बस्त्रालयको तलामाथि बसेकाहरूलाई तत्कालै उद्धार गरिएको थियो । आगो नियन्त्रणमा आईनसकेकोले गर्दा के कारणले आगलागी भयो ? कति क्षति भयो यसबारेमा थप विवरण आउन बाँकी रहेको छ ।

मानिसको भिडले आगो नियन्त्रणमा समस्या :
आगलागी भएको स्थानमा सर्वसाधारणको अत्यधिक भिडले गर्दा आगो नियन्त्रणमा भन्दा प्रहरीलाई मानिस नियन्त्रणमै समस्या भएको छ ।

आगलागी भइरहेको भवनको पूर्वपट्टि मात्रै दमकल पुग्ने र लामो लम्बाइ भएको घर भएकोले आगोलाई नियन्त्रणमा लिन समस्या भएको बताइएको छ ।

इनरुवाको दमकल बिग्रिँदा सर्वसाधारणको आक्रोश :
इनरुवा नगरपालिकाको दमकल बिग्रिएको कारण इनरुवामा भइरहेको आगलागीले ठुलो रूप लिएको भन्दै सर्वसाधारणले आक्रोश पोखेका छन् ।

केही महिना देखि इनरुवामा रहेको एउटा दमकल समयमै आगलागी स्थानमा पुगेको भए आगो नियन्त्रणमा आउन सहज हुने सर्वसाधारण बताउँछन् ।

Inaruwa-aaglagi-2 Inaruwa-aaglagi-3