धरान : मन्त्रिपरिषद् निर्णय अनुसार सुनसरी जिल्लामा पनि सबै सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिने भनिए पनि कार्यान्वयनमा आउन सकेन ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार मन्त्रिपरिषद्को निर्णय अनुसार सुनसरीमा पनि सबै प्रकारका सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएको छ । यसलाई व्यावहारीकरुपमा लागु गर्न सम्बन्धित ट्राफिक प्रहरी, प्रहरी लगायत सुरक्षा निकायले कार्यान्वयनमा ल्याउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले यसो भनिरहँदा कतिपय कार्यान्वयन गर्ने निकायकै ट्राफिक प्रहरी र सुरक्षा निकाय नै बेखबर छन् ।

सुनसरी जिल्लाका सबै जसो स्थानमा सवारी साधनको चेकजाँचमा कडाइ गरिएको पाइँदैन । मोटरसाइकलमा चालक मात्रै चढ्न पाइने, चारपाङ्ग्रे निजी कारहरूमा चालक सहित ३ जना मात्रै चढ्न पाइने र जोर गते जोर नम्बर को सवारी र बिजोर गते बिजोर नम्बर को सवारीलाई मात्रै सञ्चालन गर्न दिने सुनसरी जिल्लामा निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।

निर्णयलाई कार्यान्वयन ल्याउन भने व्यावहारीकरुपमा समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए । मोटर साइकलमा जोर बिजोर नम्बर लागु गर्न त परैको कुरा दुई जना नचढ्न भन्दा समेत ट्राफिक प्रहरीलाई सर्वसाधारणले नटेर्ने गरेको पाइन्छ । धरान, इटहरी, इनरुवा र दुहबीमा कहीँ कतै पनि जोर बिजोर प्रणाली मोटर साइकलमा लागु भएको पाइँदैन ।

प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी भीमबहादुर दाहालले प्रदेश १ भरी विभिन्न स्थानमा जोरबिजोर प्रणालीलाई व्यावहारीकरुपमा लागु गर्ने भने पनि यसलाई व्यावहारीकरुपमा लागु हुन सकेको छैन ।

ट्राफिक प्रहरी, प्रहरी र सुरक्षाकर्मीहरुलाईनै सबै सवारी साधनमा जोर बिजोर प्रणालीको बारेमा सुनसरी जिल्लामा पनि लागु गर्ने निर्णय प्रति सम्बन्धित निकाय नै बेखबर रहेकोले यस्तो भएको बताइन्छ । जिल्लामा भएको निर्णयको तल्लो तह सम्म सर्कुलर जारी राम्रो सँग हुन नसक्दा निर्णय निर्णय मात्रै भयो कार्यान्वयन भएन ।

JorBijor-Pranali