धरान : अवैध औषधी घरमा राखेर बिक्री गर्ने दुई जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान १५ की २३ वर्षीय मनीषा राई र धरान ५ का २९ वर्षीय उमेश राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार मनीषाले घरमा अवैधरुपमा ट्रामाडोल लगायतका औषधीहरू राखेर बेचबिखन गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

मङ्गलवार दिउँसो करिब साढे ३ बजे मनीषा राईको घरमा खानतलासी लिँदा प्रहरीले डाइक्लोमाइन हाइड्रोक्लोराइड ट्याब्लेट ३ सय ५५ थान र ट्रामाडोल क्याप्सुल ३ सय ५५ थान फेला परेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

अवैध औषधी बेचबिखन गर्ने कार्यमा संलग्न रहेका मनीषा र उमेश दुवैलाई बुधवार आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।