धरान पाँच कन्या सब डिभिजन वन कार्यालय धरान तीनकुनेको धरान वन नर्सरीबाट विभिन्न जातका १ लाख रुखका बिरुवाहरू वितरण गरिँदै छ ।

मलिशियन सखुवा, गोल मोहर, तेज पात, सिसौ, टिक, टाकी, खयर, इपिल, जमुना, अमला र सजिवन जानकार बिरुवाहरू रोप्न चाहानेहरुलाई निःशुल्क वितरण गर्ने वन कार्यालयको योजना रहेको छ ।

वृक्षारोपण गर्न चाहने जग्गा धनीहरूलाई ५० वटा सम्म बिरुवा निवेदन लिई निःशुल्क उपलब्ध गराइन्छ । २ सय ५० वटा सम्म बिरुवा जग्गा धनिपूर्जा र नागरिकताको फोटोकपी समेत निवेदन लिने र त्यस भन्दा बढी वृक्ष रोपन गर्ने भए सम्बन्धित वडाको सिफारिस चाहिने कार्यालयले जानकारी गराएको छ ।

बिरुवा लगेर मात्र हुँदैन हुर्काउनु पनि पर्छ ,त्यसैले वितरण पछि बिरुवाको अनुगमन पनि गरिने कार्यालयको योजना छ । आगामी असार १२ गते देखि निःशुल्क बिरुवा वितरण सुरु गरिने विष्णुपादुका सब डिभिजन वन कार्यालयका प्रमुख ईश्वरी बास्तोलाले बताए ।

धरान क्षेत्रभित्र विगत ४ वर्ष देखि धरान बाट बिरुवा उत्पादन गरेर वितरण गरिँदै आएको छ । जग्गाहुनेहरुले राम्रो वेरावारा गरी बिरुवा हुर्काउन सकेमा राम्रो आम्दानी गर्न सक्ने र धरानको हरियाली पनि प्रवर्धन हुने धरान उपमहानगरपालिकाका तथ्याङ्क अधिकृत ध्रुव अधिकारीले बताए ।

धरान उपमहानगर पालिका र वृक्षारोपण गर्न चाहने सङ्घ संस्थाहरूलाई पनि बिरुवा उपलब्ध गराउने कार्यालयको योजना छ ।