इटहरी : आर्थिक अभावले उपचार गर्न नसकेर घरैमा मृत्यु भएका सुखरीया चौधरीको परिवारलाई आर्थिक तथा खाद्यान्न सहयोग जुट्न थालेको छ ।

गत पुस देखी सुगर लागेर घरैमा थलिएका चौधरीको गत मङ्गलवार निधन भएको थियो ।  उनको निधनको खबर सुनेसङै उनका बाल सखा नवराज खड्काले बाबु कमल खड्का मार्फत १० हजार रुपैयाँ सहयोग गरेका छन् । सुखरीयाको उपचारको लागी एक सहकारीबाट लिएको १० हजार रुपैयाँ ऋण तिर्नको लागी आफूले सहयोग गरेको उनले बताएका छन् । हाल अमेरिकामा रहेका उनी सुखरीयाका सानो उमेरका साथी हुन् ।

त्यस्तै इटहरीकै युवा व्यवसायी अनुरोध थापाले १ बोरा चामल र १ कार्टुन तेल सहयोग गरेका छन् । परिवारको अवस्था कमजोर भएको खबर सुनेपछि सहयोग गरेको र थप गर्नुपरे पनि आफू तयार रहेको कपुरी न्युजलाई बताए ।

बगैँचा टोलबिकाश संस्थाका अध्यक्ष सुनिल कार्कीको अग्रसरतामा चौधरी परिवारलाई सहयोग जुटी रहेको छ । कक्षा १२ मा अध्ययनरत छोरीलाई जनता माविमा निःशुल्क पढाउने व्यवस्था मिलाइएको कार्कीले बताए । त्यस्तै कक्षा ८ मा पढ्दै गरेका छोरालाई स्थानीय निजी विद्यालयमा पढाउने व्यवस्था मिलाइएको उनको भनाइछ ।

दुवै किड्नी फेल भएर निधन भएका सुखरीयाको उपचार गर्ने पैसा नभएर मृत्यु भएको उनकी श्रीमती लल्की चौधरी बताउँछिन् । इटहरीमा उपचार गर्दा १० हजार ऋण लिएको र थप उपचारको लागी विराटनगर लैजाने पैसा नभएकै कारण श्रीमानको मृत्यु भएको उनको भनाइ छ ।