धरान : सङ्खुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडाको ओयाङ्गमा पहिरो खसेपछि अरुण नदी थुनिएको स्थानमा नेपाली सेना र प्रहरी पुगेको छ ।

पछिल्लो जानकारी अनुसार पहिरो खसेको ओयाङ्गमा अहिले थुनिएको पानी बग्न थालेको छ । आइतबार बिहान गएको पहिरोले एक परिवारका ७ जना विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी नवराज मल्लका अनुसार करिब ६ सय मिटर माथिबाट झरेको पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको थियो । पहिरोले प्रकाश राईको ७ जनाको परिवार विस्थापित भएको प्रहरीले बताएको छ ।

स्थानीय हिरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले घटनास्थलमा पुगेका सुरक्षाकर्मीले त्यहाँका विस्थापित र जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको प्रहरीले बताएको छ ।

अरुण नदी नै थुनिएकोले आसपासका बस्ती रहेको अरुण तेस्रो आयोजनाको पावर हाउस स्थल पुखुवा आसपास र हेलुवाबेसी, चेवाबेसी, मनकामनालगायतका क्षेत्रका स्थानीयलाई अरुण नदी आसपास नजान र सतर्क भएर बस्न प्रहरीले आग्रहसमेत गरेको छ ।