धरान : सङ्खुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडाको ओयाङ्गमा आइतबार बिहान पहिरो खसेपछि अरुण नदी थुनिएकोमा थुनिएको अरुण नदी केही खुलेको छ ।

दिउसो देखी नदीले आफै बहाव परिवर्तन गरी थुनिएको पानी बग्न थालेको हो । नदी पुरै केही घण्टा मात्रै थुनिएको र केही समय पछि आफै बाटो बनाएर बग्न थाले पनि जोखिम भने अझै टरेको छैन । करिब ३ सय मिटर क्षेत्र पानी फिँजिएको क्षेत्रको पानीको सतह नघट्नुले नदी तटमा जोखिम रहेको बताइएको छ ।

सङ्खुवासभाको सदरमुकाम खादबारीबाट हिँडेर जाँदा १ दिन लाग्ने सो स्थानमा आइतबार दिउसो नेपाली सेना र प्रहरी पुगेर पहिरोबाट विस्थापित र जोखिम परिवारहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी नवराज मल्लले बताए । डिएसपी मल्लका अनुसार करिब ६ सय मिटर माथिबाट झरेको पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर पानी जमेर ड्याम बनेको थियो । पहिरोले प्रकाश राईको ७ जनाको परिवार विस्थापित भएको छ । स्थानीय हिरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले घटनास्थलमा पुगेका सुरक्षाकर्मीले त्यहाँका विस्थापित र जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ ।

अरुण नदी नै थुनिएकोले शतप्रतिशत नदी नखुलिसकेकोले आसपासका बस्ती रहेको अरुण तेस्रो आयोजनाको पावर हाउस स्थल पुखुवा आसपास र हेलुवाबेसी, चेवाबेसी, मनकामना लगायतका क्षेत्रका स्थानीयलाई अरुण नदी आसपास नजान र सतर्क भएर बस्न प्रहरीले आग्रहसमेत गरेको छ ।

आइतबार राति थप पानी पर्‍यो र फेरी पहिरोले पुर्‍यो भने थप जोखिम हुने भन्दै सङ्खुवासभा प्रहरीले घटना स्थलमा प्रहरी परिचालन गरेको डिएसपी नवराज मल्लले कपुरी न्युजलाई बताए ।

Aru-Blog-1 Arun-Blog.2