धरान : सङ्खुवासभाको मकालु गाउँपालिका २ र ५ नम्बर वडाको ओयाङ्गमा पहिरो खसेर थुनिएको अरुण नदी अहिले ९० प्रतिशत खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी नवराज मल्लका अनुसार आइतबार पहिरो खसेर ३ सय मिटरको क्षेत्रमा ताल बनेको अरुण नदी आफै खुल्नेक्रमा रहेकोले अव नदीको तटीय क्षेत्रहरूमा जोखिम कम हुँदै गएको छ । आइतबार दिउसो केही समय पुरै थुनिएको अरुण नदी केही समय पछि आफै खुल्न थालेको थियो । आइतबार दिउसो केही सीमित मात्रै बगेको नदीले राति थप पहिरोले थुनिएको बगाएर ९० प्रतिशत पानी बग्न थालेको डिएसपी मल्लले बताए ।

पहिरोले प्रकाश राईको ७ जनाको परिवार विस्थापित भएको प्रहरीले बताएको छ । स्थानीय हिरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले घटनास्थलमा पुगेका सुरक्षाकर्मीले त्यहाँका विस्थापित र जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारेको थियो ।

कोसीको बहाव बढ्न थाल्यो
पूर्वी पहाडी क्षेत्रमा केही दिन देखि पानी परिरहेकोले सप्तकोसी नदीको बहावमा पनि घटबढ हुन थालेको छ ।

कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार यो वर्ष असार ५ गते कोसीको बहाव बढेको थियो । त्यो दिन कोसीको बहाव १ लाख ४५ हजार भन्दा बढी रेकर्ड भएको थियो । त्यस पछि निरन्तर पानी परेको भए पनि कोसीको बहाव भने असार ५ गतेको तुलनामा घटेको छ ।

आज बिहान १ लाख २९ हजार ७ सय ७५ क्युसेक पानीको बहाव रहेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ५६ ढोका मध्ये अहिले सम्म १५ वटा ढोका मात्र खोलिएको बताइएको छ ।