धरान : धरान युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले आकाङ्क्षा नेपालले युवाहरूका लागि नेतृत्व विकास तालिम सम्पन्न गरेको छ ।

युवाहरूलाई असल नेतृत्वबाट मात्र सामूहिक लक्ष्य हासिल गर्न सकिन्छ भन्ने धारणा सहभागीहरूमा अभिवृद्धि गर्ने उद्देश्य रहेको सो तालिम आयोजना गरिएको हो । धरान जेसीजका पूर्व अध्यक्ष मोहन श्रेष्ठ र विष्णु बरालले सहजीकरण गरेको उक्त तालिममा नेता र नेतृत्व, नेतृत्वका शैली र सिप, नेतृत्वको प्रकार, नेतामा हुनुपर्ने गुणहरू लगायत विषयमा तालिम केन्द्रित रहेको थियो ।

युवा भविष्यको कर्णधार र सम्भावना भएका कारण उनीहरूलाई असल संस्कार र सोचको विकास गर्न नेतृत्व विकास तालिम जरुरी रहेको आकांक्षा नेपालका अध्यक्ष रत्न राईले बताइन् । तालिममा धरान १३ नं. वडा लगायतका ३० जना युवाहरू सहभागी भएका थिए ।

तालिमबाट सिकेका कुराहरूले आफूलाई अगाडि बढ्न मार्ग निर्देशन गरेको सहभागीका तर्फबाट विजय घिमिरेले बताए । त्यसै गरी अर्का सहभागी सोनिका भट्टराईले यस्ता तालिमहरू युवाहरूको लागि मार्ग निर्देशन गर्न आवश्यक रहेको र सरोकारवाला पक्षले निरन्तरता दिनुपर्ने बताइन् ।