धरान : ताप्लेजुङ र तेह्रथुम जिल्लाका २ स्थानमा तमोर नदीले बगाएर ३ जना बेपत्ता भएका छन् ।

सोमवार दिउँसो २ बजेको समयमा घरबाट टिपटाला तर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका ६ का ५७ वर्षीय कालु मान तप्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर नजिकै रहेको तमोर नदीमा पुर्‍याई बेपत्ता भएको तथा बेपत्ता भएका लिम्बुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसै गरी सोमवार दिउँसो ३ बजे साथीहरूसँगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका ५ होडाका १५ वर्षीय सन्तोष तामाङ र १८ वर्षीय रञ्जित शेर्पालाई पनि तमोर नदीले बगाउँदा बेपत्ता भएका छन् ।

पौडी खेल्न गएका उनीहरूलाई अचानक नदीले बगाएको भनी अन्य साथीहरूले हो-हल्ला गरेपछि स्थानीयवासीले खोजतलास गर्दा फेला नपरेको इलाका प्रहरी आठराईमा जानकारी गराइएको छ । बेपत्ताको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।