धरान : सप्तरीमा चट्याङ लागेर आज बिहान एक महिलासहित चार जनाको मृत्यु भएको छ । एक युवती घाइते भएकी छिन् ।

आज बिहान देखी परेको वर्षासँगको चट्याङ लागेर सप्तरी जिल्लाको महदेवा गाउँपालिकाका २ तथा डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको सप्तरीका संचारकर्मी नवीन गुप्ताले जानकारी दिएका छन् ।

सप्तरीको महादेवा गाउँपालिकाका २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुर दुवै जना घरमा पूजा लगाएर सप्तकोसी नदीमा नुहाउन गएको बेला चट्याङ लागेर कोसी नदी छेउमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीकै डाक्नेश्वरी नगरपालिका ९ का ३० वर्षीय ललितादेवी यादवको पनि बिहान खेतमा धान रोप्न जाँदा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।

यस्तै राजगढ गाउँपालिका २ बेल्ही चपेनाका ४६ वर्षीय केसी साहको पनि खेतमा काम गर्दै गरेको बेला चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइते भएका साहलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका २ बेल्ही चपेनाकी १८ वर्षीय आशा मण्डल घरमा बसिरहेको बेला चट्याङ लागेर घाइते भएकी छन् । चट्याङले घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालका मेसु डा. रञ्जित झाले जानकारी दिएका छन् ।