पथरी : धान रोपाइ गर्ने बेलामा मोरङको लेटाङ ८ र ९ जातेका किसानलाई भने पहिरोले पुरेको पैनी पुन निर्माण नहुँदा चिन्तित भएका छन् ।

मानो खाएर मुरी उब्जाउने बेलामा चिसाई गर्ने पैनी कुलो पहिरोले पुरिदा किसान चिन्तित भएका हुन् । स्थानीय तेलीगडामे पैनीलाई गतबर्षको साउनमा आएको पहिरोले पुरे पछि स्थानीय किसान खेतमा चिसाई गर्न समस्या भएको हो । पहिरोले पैनी बगाएपछि यहाँका किसान खेत बाँझै राख्ने अवस्थामा पुगेका छन् ।

करिब ६० हेक्टर धान खेत गर्ने किसानहरूले पैनी भत्किएर बनाउनै नसकिने अवस्था आएपछि वडा कार्यालयलाई पैनी बनाउन पहल गरिदिन निवेदन समेत दिएका छन् । तरकारी खेती गर्नका लागि उपयुक्त ठाउँ भएको जातेमा तेलि गडामे सिँचाई पैनी व्यवस्थित गर्न नसक्दा सिचाँईको अभावमा किसानले बर्सेनि समस्या भोगिरहेका छन् ।

लेटाङ नगरपालिकाले चालू आर्थिक बर्समा ९ लाख २५ हजार बजेट विनियोजन गरेको र उक्त बजेटले पहिरो पन्छाउँदै सकिएको उक्त पैनीका अध्यक्ष धनबहादुर लिम्बुले बताए । रकमको अभावमा योजना मुताबिक पैनी व्यवस्थित गर्न नसकेको लिम्बुको भनाई छ । पैनीलाई व्यवस्थित गर्नका लागि करिब ३ करोड बजेटको आवस्यक्ता रहेको छ ।

यो पैनीलाई व्यवस्थित बनाउन सके साबिक जातेका १,२,८ र ९ वडाका किसानले राहत पाउने लिम्बुले बताए । चालू आर्थिक वर्षमा प्रदेश सरकारले उक्त पैनीलाई १० हजार रुपैयाँ विनियोजन गरेको थियो ।