धरान :  चिकित्सकको सिफारिस विना औषधी बिक्री गर्ने धरानको सुमन मेडिकल हलका सञ्चालक सहित पाँच जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरानको भानु चौकमा रहेको सुमन मेडिकल हलका सञ्चालक ५३ वर्षीय विनयकुमार गुरुङ , मेडिकल पसलमा औषधी खरिद गर्ने धरान १० का २० वर्षीय सम्यक श्रेष्ठ, धरान १५ का २२ वर्षीय सहबाज सिद्धिकी, २९ वर्षीय अमिर नेपाली र २२ वर्षीय अर्जुन बराइली रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरूको साथबाट चिकित्सकको सिफारिस विनाका औषधीहरू DECOLIC, PREGSTAR-M र APABALIN बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार मेडिकल हलबाट डाक्टरको सिफारिस विना औषधी बिक्री भइरहेको भन्ने सूचनाको आधारमा निगरानी गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । चिकित्सकको सिफारिस विना विभिन्न औषधीहरू खरिद गरेर लागु औषधको रूपमा प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

युवाहरूको साथबाट बरामद भएको औषधी सुमन मेडिकल हलबाट पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई बरामद भएको औषधीसहित थप अनुसन्धान र कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।