धरान : सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका ३ को पानी ट्याङ्की नजिक गए राति प्रहरी र तस्कर समूहबिच गोली हानाहानमा घाइते भएकाहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिई गएको प्रहरी निरीक्षक सरोज खनालको प्रहरी गस्ती टोलीले पानीटंकी नजिक भारतीय मोटर साइकलमा आएका व्यक्तिहरूलाई चेक गर्न खोज्दा देवानगंज २ बस्ने वर्ष २३ का पिन्टु यादव, सोही स्थान बस्ने वर्ष ३२ को राजेश यादव र अन्य ३ र ४ जनाको समूहले प्रहरी माथि फायर खोली भाग्ने क्रममा प्रहरीले जवाफी फायर खोल्दा पिन्टु यादव र राजेश यादवको खुट्टामा गोली लागी घाइते भएका थिए ।

घाइते दुवै जनालाई उपचारको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सुनसरी प्रहरी प्रमुख कमल थापाले जानकारी दिएका छन् ।

उक्त घटना स्थलमा खोज तलास गर्दा उनीहरू लगायत अन्य अरू सहकर्मीहरूले प्रयोग गर्ने 7.3565NO11 अटोमेटिक पिस्तोल १ थान, 7.3565NO11 अटोमेटिक पिस्तोलमा प्रयोग हुने गोली ६ राउन्ड , म्यागेजिन २ थान , बीआर ३८ भि ३५२८ नम्बर को मोटरसाइकल र अनटेष्ट १२५ सिसीको मोटरसाइकल दुई थान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले यो घटनाको बारेमा थप खोजतलास तथा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख कमल थापाले बताए ।