धरान : बीपी प्रतिष्ठानमा पहिलो पटक एक जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ  भने शुक्रवार १० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी अनुसार झापाका ३ जना, सुनसरी धरानका ५ जना, मोरङका २ जना गरी ८ जना पुरुष र २ जना महिला गरी १० जना कोरोना मुक्त भएपछि अस्पतालले उनीहरूलाई डिस्चार्ज दिएको हो ।

स्वास्थ्य प्रोटोकल अनुसार उनीहरूको पछिल्लो पिसिआर परीक्षणमा कोरोना नेगेटिभ, कोरोना नभएको रिपोर्ट आएपछि उनीहरूलाई घर पठाइएको हो । यो सँगै प्रतिष्ठानबाट डिस्चार्ज हुनेहरूको सङ्ख्या २ सय ६६ पुगेको छ । डिस्चार्ज हुनेहरूको उमेर समूह २५ देखि ६६ वर्षका रहेको पनि प्रतिष्ठानले जनाएको छ ।

यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार ३१ गते उपचारका लागि ल्याइएका सप्तरी राजविराज ६ का ७३ वर्षीय एक जना पुरुषको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनी मुटु रोगी, उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको बताइएको छ ।

उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा बिहीबार राति मृत्यु भएको थियो । प्रतिष्ठानमा कोरोना उपचारको क्रममा बिरामीको मृत्यु भएको यो पहिलो घटना हो । मृतकलाई शुक्रवार सप्तरी जिल्ला नै पठाइएको प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

उनलाई स्वास्थ्य मापदण्ड अनुसार सुरक्षित तरिकाले सप्तरी पठाइएको थियो । मृतकको शुक्रबार नै विशेष सुरक्षा सतर्कता अपनाएर सप्तरीको कोसी नदीमा दाहसंस्कार गरिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिएका छन् ।