धरान : साउन महिनामा लाग्ने बोलबंम मेला नलगाउने निर्णय भए पनि सर्वसाधारण सम्म सूचना नपुग्दा पिण्डेश्वर मन्दिरमा पूजा गर्न आउनेको सङ्ख्या आज शनिवार उल्लेख्य देखियो ।

हिजो धरान उपमहानगरपालिका, पिण्डेश्वर बाबा धाम समिति, इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय बिच हिजो बसेको बैठकले साउनको बोलबंम मेला कोरोनाको जोखिमको कारण नलगाउने निर्णय गरेको थियो । तर आज शनिवार पिण्डेश्वर मन्दिरमा अरू दिनको तुलनामा निकै धेरै सर्वसाधारण पूजा गर्न आए । यसो हुनुको मुख्य कारण निर्णय मात्रै भयो सर्वसाधारण सम्म निर्णयको सूचना नपुगेकोले भक्तजन आउने गरेको पिण्डेश्वर मन्दिरमा आई पुगेका भक्तजनहरूले बताए ।

विजयपुरका मन्दिर सबै बन्द गर्ने निर्णय भए पनि बिहान हुने नित्य पुजाको बेला भक्तजन आई पुग्दा मन्दिर भित्रबाट पुजारीले भक्तजनले ल्याएको गेटमा आएर फूलपाती थापि दिनाले गर्दा भक्तजनहरू मन्दिरमा भिड लाग्ने गरेका छन् । मन्दिर बन्द गर्ने निर्णय भए पनि पिण्डेश्वर मन्दिरको हकमा भने ढिलो मात्रै नित्य पूजा हुने र मन्दिर कम्पाउन्ड भित्र बस्ने साधु सन्तले गेटको चाबी राखेकोले उनीहरूले मन्दिरका विभिन्न ठाउको गेट खोलिदिँदा भक्तजन मन्दिर भित्र प्रवेश गर्ने गरेको विजयपुर प्रहरी चौकीका असई भिमबहादुर गुरुङले बताए ।

विजयपुरको मठ मन्दिरमा आउने भक्तजनलाई मन्दिर परिसरमा आई पुगेर मात्रै मन्दिर बन्द छ भनेर रोक्नु भन्दा मन्दिर आउने सवारी साधनहरूको चालक र विजयपुर उक्लिने स्थानमै प्रहरी परिचालन गरी मन्दिर बन्द रहेको जानकारी गरायो भने मात्रै निर्णय कार्यान्वयन हुने बताइएको छ । यदि यसो हुन सकेन भने साउनमा पिण्डेश्वर बाबा धाममा भक्तजनलाई रोक्न नसकिने स्थानीयवासी बताउँछन् ।

हिजो भएको निर्णय पछि धरान उपमहानगर भित्र मन्दिर बन्द रहेको माइकिङ गरिए पनि सबै तिर सूचना नपुग्दा विजयपुरका मन्दिरहरूमा भक्तजनहरू आउने क्रम नरोकिएको विजयपुरका प्रेम पराजुलीको भनाई छ । “निर्णय भयो कार्यान्वयन भएन, कोरोनाको जोखिमको कारण बन्द गरिएको मठमन्दिरहरू पुर्णरुपमा बन्द गर्नका लागि व्यापक सूचना जारी गर्नुका साथै कार्यान्वयनमा ल्याउनुपर्ने पराजुली बताउँछन् ।

विजयपुरका सबै मन्दिरमा उस्तै समस्या :
धरान १४ विजयपुरमा रहेका सबै मठमन्दिरहरू लकडाउन पछि बन्द नै रहेका छन् ।

लकडाउन खुकुलो भए देखि विजयपुरका सबै मन्दिरहरूमा भक्तजनहरू आउने क्रम बढेको छ । दन्तकाली, बुढासुब्बा र पिण्डेश्वर मन्दिर लगायत पञ्चकन्या मन्दिर लगायतमा शनिवार र मङ्गलवार भक्तजनको भिड लाग्ने गरेको छ । अझ साउन महिनामा पिण्डेश्वर मन्दिरमा भक्तजनको ठुलो भिड लाग्ने भएकोले पिण्डेश्वरमा मन्दिर खुल्ला नभएको जानकारी सबै तिर पुर्‍याउनुपर्ने देखिन्छ ।

यो सँगै विजयपुर प्रहरी चौकीमा रहेका ३ जना प्रहरीले मात्रै मन्दिरहरूमा खटन नसक्ने भएकोले धरान उपमहानगरपालिकाले नगर प्रहरी र थप प्रहरी परिचालन गर्नुपर्ने देखिन्छ ।

Pindeswor-1 Pindeswor-2