धरान : सङ्खुवासभाको सिलिचोङ १ बेसिन्दामा एक साता अघि गएको पहिरोमा परि बेपत्ता भएका ११ जना एक साता खोजी गर्दा पनि नभेटिएकोले हिजो देखि खोजी गर्न रोकिएको छ ।

लामो समय सम्म निरन्तर खोजी गर्दा पनि नभेटिएपछि हिजो देखि खोजी कार्य रोकिएको सिलिचोङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख दीपेन्द्र कुलुङले जानकारी दिएका छन् ।

गएको असार २७ गते राति सिलिचोङ गाउँपालिकाको बेसिन्दा गाउँमा गएको पहिरोले ९ घर बगाएको थियो भने ११ जना बेपत्ता भएका थिए । गएको आइतबार पहिरो पछि बेपत्ताको खोजी तथा उद्दारमा लागेका एक स्थानीय युवा २८ वर्षीय प्रशान्त राईको मृत्यु भएको थियो ।

यसै गरी वेसिन्दा गाउँका गोवासिंह राई, राममान राई, जुद्ध बहादुर राई (गैरी), जुद्ध बहादुर राई (माने), नजमाया राई, हर्कराज राई, भीम बहादुर राई, सन्दीप राई, सुभधन राईको घर बगाएको थियो । पहिरोले ५ घरका ११ जना बेपत्ता भएका हुन् । पहिरोमा ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीय हस्तकुमारी राई, छोरीहरू २१ वर्षीय एन्जिला राई गर्भवती समेत थिइन् ।

यसै गरी ११ वर्षीय नम्रता राई ,जुद्धबहादुर राई ६५ वर्षीय श्रीमती गोरी माया राई र छोरी २२ वर्षीय प्रकृति राई, अर्का ५२ वर्षीय जुद्धबहादुर राई (माने) र उनकी श्रीमती ४५ वर्षीय उत्तरकुमारी राई पनि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

बेपत्ताहरू हप्ता दिन सम्म खोजी गर्दा पनि नभेटिएपछि हिजो शनिवार देखि खोजी कार्य रोकी अव पहिरोबाट विस्थापितहरूको व्यवस्थापनमा लागेको बताइएको छ । सिलिचोङको चित्रे भन्ने स्थानमा ६० घरधुरी र बुधबारेमा २९ घरधुरीलाई अस्थायी त्रिपाल, पाल टाँगेर राखिएको स्वास्थ्य शाखाका प्रमुख दीपेन्द्र कुलुङले बताए । आज देखि फेरी मौसम बिग्रिएकोले पहिरोग्रस्त क्षेत्रमा फेरि पनि समस्या हुन सक्ने बताइएको छ ।