धरान : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोमा परि हराइरहेकाहरूको खोजी र उद्दारमा संलग्न सुरक्षाकर्मीहरु सदरमुकाम फर्किएका छन् ।

बेपत्ता भएको एक साता बितिसक्दा समेत बेपत्ताहरू फेला नपरेपछि उद्धारका लागि सदरमुकाम खाँदारीबाट गएको ६० जनाको सुरक्षाकर्मीको टोली फर्किएको हो । उद्धारका लागि गएको टोली सङ्खुवासभाको सदरमुकाम खाँदबारी आईपुगेको छ । गत असार २७ गते सिलिचोङ गाउँपालिका–१ को बेसिन्दा गाउँमा पहिरोमा पुरिएर ११ जना बेपत्ता भएका थिए । ६० जना सुरक्षाकर्मीको टोलीले पहिरो खसेको स्थान र आसपासका खोलामा एक सातासम्म खोजी गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरीका १५, सशस्त्रका १५ र बराह दल गुल्मका नेपाली सेना ३० जना सुरक्षाकर्मीको टोली खटिएका थिए । पहिरोमा हराइरहेकाहरूको खोजी पूर्ण रूपमा भने बन्द नभएको पनि प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । अहिले स्थानीय, ताम्कु र बुधबारे प्रहरी चौकीका गरी १३ जना प्रहरी टोलीले खोजी र निगरानी गरिरहेका छन् ।