धरान : अविरल वर्षाका कारण इलामको माई खोलामा आएको बाढीमा फसेका दुई जनाको प्रहरीले सकुशल उद्धार गरेको छ ।

माइखोलाको बाढीमा फसेका माईजोगमाई गाउँपालिका ५ का ६६ वर्षीय लोक बहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बुलाई प्रहरीले सकुशल उद्धार गरेको छ । गए राती साँढे ७ बजेको समयमा माई खोला नजिक रहेको आफ्नो गोठबाट घर तर्फ फर्कने क्रममा बाटोलाई खोलाले कटान गरी खोलाको बिचमा उनीहरू फसेका थिए । जिल्ला प्रहरी कार्यालय इलाम, इलाका प्रहरी कार्यालय नयाँ बजार र अस्थायी प्रहरी पोस्ट बिप्लाटेबाट खटिएको प्रहरी टोलीले डोरीको सहायताले राती १० बजे उनीहरूलाई सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यसै गरी यता लगातारको वर्षापछि कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गाउँपालिकाको दुई वटा बस्ती डुबानमा पारेको छ ।
गाउँपालिकाको वडा नम्बर १ स्थित मिलन बस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका २२ घर डुबानमा परेका छन् । हिजो दिउँसोदेखि डुबानमा परेका १०५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । मिलन बस्तीका ८३ परिवारलाई स्थानीय सितुमारी प्राविमा तथा सडकबारीका २२ परिवारलाई स्थानीय लक्ष्मी प्राविमा राखिएको छ ।

बस्तीमा पानीको मात्रा केही घटेकाले मिलन बस्तीका ६० परिवार भने आज बिहान घर फर्किएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिएका छन् । मिलन बस्तीका २१ परिवार भने घर फर्किन सक्ने अवस्था अझै नरहेको बताइएको छ । बाढीले कनकाई नदी किनारको ३ सय मिटर बाँध भत्काएको छ । नदीमा आएको बाढीले चार दिनदेखि लगातार कटान गरेको थियो । बाँध भत्काएर बस्तीतर्फ सोझिएको बाढीले करिब एक हजार बिघा धान खेतसमेत डुबाएको छ ।

यसै गरी मोरङको सुन्दरहरैचा नगरपालिका ११ का सञ्जय दनुवारको ३ वर्षीय छोरा सञ्जीव दनुवारको पैनीमा डुबेर मृत्यु भएको छ ।

हिजो दिउँसो सवा २ बजे आफ्नै घर अगाडी रहेको पैनीमा बालकका आफन्तले बालकलाई डुबिरहेको देखि तत्काल उद्धार गरी उपचारको लागी विराट नर्सिङ होम विराटनगर पठाएकोमा उपचारको क्रममा पौने ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।