धरान : हिजो कोसी बहाव यो वर्षकै उच्च मापन भएकोमा आज भने घटेको छ ।

आज बिहान सप्तकोसी नदीमा पानीको मापन गर्दा २ लाख ३७ हजार २ सय ८० क्युसेक प्रतिसेकेन्ड रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् । हिजो बिहान ४८ वटा ढोका खोलिएकोमा आज बिहान भने पानीको बहाव घटेपछि २८ वटा ढोका मात्रै खोलिएको छ ।

कोसीमा पानीको बहाव घटेको चतरामा पानी मापन गर्ने हरि बहादुर कार्की पनि बताउँछन् । उनका अनुसार आज बिहान ४ मिटर ९४ सेन्टिमिटर मात्रै पानीको बहाव मापन भएको छ । ५ मिटर ६० सेन्टिमिटर पुग्यो भने खतरा मानिने उनले बताए ।

यस्तै सप्तकोसी नदीको पूर्वी तटबन्धको ९ र १० नम्बर स्परमा क्षति गरिरहेको बताइए पनि आज पानीको बहाव घटेकोले क्षति रोकिएको छ । यो सँगै क्षति न्यूनीकरणका लागि मानिस परिचालन गरिसकिएकोले कोसीको कटानको जोखिम नभएको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए ।