धरान : सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा पहिरोका कारण १ सय ३८ घर पुर्णरुपमा विस्थापित भएका छन् ।

पहिरोको उच्च जोखिम भएपछि सिलिचोङ–१ बेसिन्दा, चेप्चेवा लगायत गाउँका १ सय ३८ घर पुर्णरुपमा विस्थापित र १ सय ६ घर आम्सिकरुपमा विस्थापित भएको सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिएका छन् । असार २८ गते गएको पहिरोमा परि हराइरहेका ११ जना अहिले सम्म फेला नपरेको र खोजी कार्य अझै पनि जारी रहेको अध्यक्ष कुलुङले बताए ।

पहिरोबाट विस्थापित भएकाहरूलाई चित्रेमा ५७ घर परिवार, बुधबारेमा २९ घरपरिवार, पौखमटारमा २० घर परिवार र अरूलाई सामान्यरुपमा पीडित भएकाहरूलाई आ आफनै घर आसपासको सुरक्षित स्थानमा राखिएको छ । पहिरोमा परि ११ जना बेपत्ता भएको र एक जनाको पहिरोमा उद्दारमा सक्रिय रहेको बेला मृत्यु भएको र ५ जना सामान्य घाइते भएका थिए ।

पहिरो पीडितलाई प्रदेश नम्बर १ सरकारले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले बताए । उनका अनुसार प्रदेश सरकारले ७५ बोरा चामल, १६ बोरा दाल, १२५ लिटर खाने तेल पुर्‍याएको बताइएको छ ।

पहिरो पीडितलाई सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायबाट समेत राहत सङ्कलन गर्ने काम भइरहेको बताइएको छ । हालसम्म विभिन्न सङ्घसंस्थाबाट दुई लाखभन्दा बढीको राहत सङ्कलन भइसकेको छ ।
पहिरोग्रस्त क्षेत्रमा अहिले पनि दैनिक जसो पानी पर्ने र बेसिन्दा गाउँमा अझै पहिरो झर्ने क्रम नरोकिएकोले जोखिम उस्तै रहेको सिलिचोङ गाउँपालिकाले जनाएको छ ।