धरान : सुनसरीको धरानमा विश्वकर्माहरूको थरगत जाती लोहारहरुको ऐतिहासिक प्रथम भेला आज धरानमा सम्पन्न भएको छ ।

भेलाले जुद्ध बहादुर लोहारको अध्यक्षतामा २१ सदस्य ‘लोहार कुल वंश प्रतिष्ठान केन्द्रीय कार्य समिति’ गठन भएको छ । भेलाले उपाध्यक्षमा लङ्कमान लोहार , महासचिव रणध्वज लोहार , सचिव मेघराज लोहार र कोषाध्यक्ष निता लोहार निर्वाचित गरेको छ । यसैगरी सदस्यहरूमा सन्तोष लोहार , हर्कराज लोहार, प्रेम लोहार, अम्बर बहादुर लोहार,भगवती लोहार, मिरा लोहार,अमर बहादुर लोहार(ख), भीम लोहार, सरला लोहार, धनश्याम लोहार, रमेश लोहार,विनोद लोहार,शुक्र लोहार,धन बहादुर लोहार चयन भएका छन् । समितिको पहिलो बैठकले एक जनालाई मनोनयन गर्ने गरी २१ सदस्य समिति चयन गरिएको छ ।

उद्घाटन सत्रपछि विश्वकर्मा कल्याण सेवा केन्द्रीय कार्य समिति धरानका अध्यक्ष लाल बहादुर सेन्चुउरीको संयोजकत्वमा वनेको ३ सदस्य निर्वाचन मण्डलद्वारा उक्तm समिति चयन गरेको हो । नव निर्वाचित अध्यक्ष जुद्ध लोहारले भातृत्व प्रेम , एकता र सहयोगको आदान प्रदान गर्नको लागि लोहार दाजुभाई एक ठाउँमा गोलबद्ध भएको बताए । उनले भने,‘ लोहारहरु नै वास्तविक रूपमा सीप र सृजनाको धनी हो, खुकुरी र सुनका गरगहनाहरू बनाउने पौरखी इन्जिनियर भएकाले राज्यले विशेष सम्मान गर्नु पर्ने माग समेत गरे ।

कार्यक्रममा धरानका विभिन्न दलित समुदाय अन्तर्गत पर्ने जातिगत सङ्गठनहरूले नव निर्वाचित समितिलाई बधाई एवम् शुभकामना दिएका थिए । कार्यक्रमको उद्घाटन ज्येष्ठ नागरिक ७७ वर्षीय भीम बहादुर लोहारले पानसमा बत्ती बालेर गरेका थिए भने स्वागत मन्तव्य विनोद लोहारले गरेका थिए ।