धरान : हिजो देखिको अविरल वर्षाका कारण धरान १४ विजयपुरको बाबाधाम मार्गको दुई घर पहिरोको उच्च जोखिममा परेका छन् ।

पिण्डेश्वर मन्दिर जाने बाटोको दक्षिण तर्फको दुई घरमा राति देखि घर मुनिको जमिन बगाएकोले भत्किने अवस्थामा पुगेकोले दुई घरका मानिसलाई सुरक्षित स्थानमा सारिँदै गरिएको स्थानीय ओमप्रकाश राईले जानकारी दिएका छन् ।

पहिरोले बाबाधाम मार्गका चन्द्र बस्नेतको पक्की घर र कमला लिम्बुको घर उच्च जोखिममा परेकोले दुई घरका मानिसलाई सुरक्षित स्थानमा छिमेकीकोमा सारिएको छ । हिजो साँझ देखि परेको अविरल वर्षाका कारण सडकमा र किनाराको नालामा बगेको भल पानीले घरमुनि खोल्सामा कटान गरी जमिन भत्काउन थालेपछि दुई घर उच्च जोखिममा परेका हुन् । दुई घरका मानिस पुरै विस्थापित भएको बताइएको छ । पहिले देखिनै कटान भइरहेको भए पनि गए राति धेरै नै कटान गरेको स्थानीयवासीले बताएका छन् ।

अहिले पनि निरन्तर पानी परिरहेकोले बाबाधाम मार्गको मुनि रहेको अरू घरहरू पनि जोखिममा रहेको बताइएको छ । यसरी नै निरन्तर वर्षा भइरहने हो भने अझ धेरै क्षति हुन सक्ने स्थानीय ओमप्रकाश राईले बताए ।

यस भन्दा अघिको वर्षाले पनि जमिन कटान गरेकोले नेपाल रेडक्रस सोसाइटी र १४ नम्बर वडा कार्यालयले ५ वटा त्रिपाल दिएर जमिनको कटान रोकिएको १४ नम्बर वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए । थप जोखिम न्यूनीकरण गर्नका लागि के गर्ने भन्ने बारेमा घटना स्थलको अवस्था हेरेर निर्णय गर्ने वडाध्यक्ष भट्टराईले कपुरी न्युजलाई बताए ।