धरान : हिजो साँझ देखि धरान लगायत पूर्वी पहाडी क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

अहिले पूर्वी पहाडी क्षेत्रमा भारी वर्षा भइरहेकोले तमोर, अरुण र कोसीमा पानीको बहाव उच्च हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

अहिले भर्खरैको रेर्कडका अनुसार तमोरको मुलघाटमा तमोरमा पानीको बहाव खतरा तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले तमोरको मुलघाटमा पानीको बहाव ६ दशमलव ३६ सेन्टिमिटर रहेको छ भने चतरामा अहिले ५ दशमलव ४१ सेन्टिमिटर रहेको जल तथा मौसम विज्ञान विभागका दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

अहिले सप्तकोसी नदीमा खासै पानीको बहाव नबढे पनि दिउसो देखि पानी बहाव उच्च हुन सक्ने बताइएको छ । त्यसैले सप्तकोसीको तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सर्तकताका साथ रहन जल तथा मौसम विज्ञान विभागले आव्हान गरेको छ ।

यसअघि आज बिहान २ बजे मापन गरिएको रेकर्ड अनुसार इलाम, झापा र मोरङका धेरैजसो स्थानमा भारी वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेकाले मेची, विरिङ, निन्दा, कनकाई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुन खोला र अन्य साना खोलाको जल सतह सतर्कता विन्दु नजिक पुग्न सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रही धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरू तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसै गरी आज राती देशभर अधिकांश क्षेत्रको मौसममा बदली रही धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।