धरान : सुनसरी प्रहरीले भन्सार छली गरी भारतबाट ल्याउँदै गरेको ठुलो परिमाणको अवैध सामान आज बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जनाकारी अनुसार भारतीय बजारबाट नेपाल तर्फ भन्सार छली गरी ठुलो मात्रामा ल्याउँदै गरेको युरिया मल खाद, खैनी सुर्ती गरी जम्मा ४ लाख २० हजार ७ सय ५० मूल्य बरावरको सामान बरामद भएको छ ।

बरामद गरिएका सामानहरूमा भारतीय बजारबाट नेपाल ल्याउँदै गरेको युरिया मल जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले ५० बोरा, इलाका प्रहरी कार्यालय दुहबीको टोलीले २२ बोरा युरिया मल र सुर्ती खैनी १ सय २५ किलो, इलाका प्रहरी कार्यालय पलकीले सुर्ती खैनी १० बोरा २ सय किलो गरी जम्मा ४ लाख २० हजार ७ सय ५० रुपैयाँ मूल्य बरावरको युरिया मल र खैनी सुर्ती बरामद गरेको छ भने एक थान को २ ह ३२८३ नम्बरको टेम्पु पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि सेतुबन्ध सुनसरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।