धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका २ जना नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले भने यसबारेमा आफूलाई आधिकारिक जानकारी नआएका बताए पनि प्रतिष्ठान स्रोतका अनुसार एमआइसियुमा कार्यरत २ जना नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसअघि सोही वार्डमा उपचाररत एक महिलामा कोरोना पोजेटिभ देखिएको थियो । उनकै उपचारमा संलग्न रहेका नर्सहरूमा सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

यसै गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा श्रीमतीको उपचार गराउन आएका उदयपुरका एक व्यक्तिमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनको बिरामी श्रीमतीलाई हिजो कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरू धरान १८ स्थित बुद्ध चौक नजिकको एक होटलमा साउन २१ गतेदेखि बसिरहेका थिए । श्रीमतीको आन्द्राको अप्रेसन गर्नुअघि पिसिआर परीक्षण गर्दा हिजो रिपोर्ट पोजेटिभ आएको थियो । लगत्तै श्रीमतीलाई अस्पताल लगिएको थियो भने श्रीमानलाई धरान १७ स्थित एन्फा एकेडेमी क्वारेनटिनमा लगेर राखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

कोरोना सङ्क्रमितको श्रीमानको पनि आज कोरोना पोजेटिभ रिपोर्ट आयो, उनलाई पनि आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।