धरान : नयाँ आर्थिक वर्ष २०८२/०८३ सुरु भएको २०औँ दिन लागेको छ। तर, स्थानीय सरकार धरान उपमहानगरपालिकाको बजेट अझै आउन सकेको छैन । ऐन अनुसार आर्थिक वर्षको बजेट असार १० गते भित्र नगरसभाबाट पारित भईसक्नु पर्दछ ।
यतिका दिन बजेट आउन ढिलाई भएपछि बल्ल नगर प्रमुख हर्क साम्पाङले आज सोमवार एउटा स्टाटस लेखेका छन् ‘धरानको बजेटमा पार्टी हाबी भएको कारणले कुरा मिलिरहेको छैन । पार्टीहरूको इन्ट्रेस्टका कारण ढिलाई भएको नगर बासीहरूलाई जानकारी गराउँदछु ।’
के आर्थिक वर्ष सुरु भएको बिसौँ दिन सम्म पार्टीहरूकै कारण बजेट ढिलाई भएको हो ? नेपाली काँग्रेसका नगर सभापति श्याम पोखरेलका अनुसार कार्यपालिकाको संसदीय दल बाहेक नगर प्रमुखले अहिले सम्म धरानको विकासमा सरोकार राख्ने राजनैतिक दलहरूलाई बजेट मात्र होइन कुनै पनि विषयमा छलफल गर्न बोलाएको सम्म छैन ।
उनले भने ‘कसरी पार्टीहरूको कारण बजेट आउन ढिलाई भएको भनेका हुन ? पार्टीगत रूपमा काँग्रेसले बजेटमा कुनै हस्तक्षेप गरेको छैन, उनले आफ्नो इन्ट्रेस्टमा करोडौँ रकम राख्न खोजेकाले कुरा नमिलेको भन्ने चैँ सुनिएको छ ।’
उपप्रमुख बेघाको भनाई
नगर प्रमुख साम्पाङको बजेट बारे स्टाटस आएपछि उपप्रमुख बेघासँग सम्पर्क गर्दा उनले भने ‘उपमहानगरपालिकाको नेतृत्व जिम्मेवार र जबाफदेही नभएका कारण बजेट यति सम्म ढिला भएको हो ।’
उनका अनुसार बजेट सीमा निर्धारण समितिबाट करिब सीमा निर्धारण भईसकेको छ । समितिको बैठक १४ पटक बस्यो तर निचोड भने निस्किएको छैन । म्याईनुट बिनाको बैठक त कयौँ पटक बस्यो भनेर साध्य छैन ।
निर्णय प्रक्रियाकोलागि बजेट अनुमोदन भईसकेको छ तर नगरप्रमुख जिम्मेवार नभएको कारण निर्णय प्रक्रिया अवरुद्ध भएको छ । प्रमुखको अडान र एकल हठतका कारण निर्णय प्रक्रिया अवरुद्ध भएको हो । उनले भने ‘आरोप प्रत्यारोप गरेर मात्र धरान बन्दैन, धरान बनाउन हठ त्याग्नु पर्दछ ।’
उपप्रमुख नेतृत्वमा रहेको राजस्व परामर्श समितिको वैशाख ३० मा सम्पन्न बैठकले १ अर्ब ६० करोड १५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट सीमा निर्धारण समितिलाई बुझाएको थियो । तर बजेट सीमा निर्धारण समितिले असार १० गते बजेटको टुङ्गो लगाउन सकेन ।
साउन १ देखि बजेट शून्यताका कारण भइरहेका विकास आयोजनाहरूको भुक्तानीदेखि कर्मचारीहरूको तलब भत्तासम्म रोकिने अवस्था आएको छ ।
तर विवाद समाधान गरी बजेट पारित गर्न जनप्रतिनिधिहरू नलागेकोमा नगर बासी आक्रोशित छन् ।
कार्यपालिका भित्रका जनप्रतिनिधि बीचकै आन्तरिक किचलोका कारण पनि बजेट आउन ढिलाई भएको सुनिएको छ ।
धरान-१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले भने ‘विवाद समाधानको लागि पहल भइरहेकाले साउन मसान्त सम्ममा बजेट आउन सक्छ ।’