पथरी : ७ वर्ष अघि मलेसिया पुगेका इलामका रमेश विष्ट अहिले परिवारको सम्पर्क विहीन वनेका छन् ।

५ वर्ष देखी परिवारको सम्पर्क बाहिर रहेका विष्ट अझै फर्केर आउने आस उनको परिवारमा मरेको छैन । मलेसियाको सेलेङ्गर स्थित एक कम्पनीमा काम गर्न पुगेका विष्टले २ वर्ष सम्म परिवारलाई फोन गरेका थिए । त्यस पछि उनी एकाएक परिवारको सम्पर्कबाट बाहिर पुगे । वृद्ध अवस्थामा रहेकी आमा , श्रीमती र १४ वर्षका छोराले विष्ट फर्किएर आउने आस गरेका छन् । इलाम नगरपालिका ४ नम्बर वडाका विष्ट कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने जानकारी परिवारमा नहुँदा थप पिडा भएको छ ।

बाबुको निधन पछि किरिया काज गरेर मलेसिया हिँडेका विष्टले परिवारका सदस्य सँग फोन सम्पर्क नगरेको वर्षै भयो । विष्टकी श्रीमती सिताले भनिन अझै फर्केर आउनु हुन्छ भन्ने आस छ । ७ वर्षको छोरो छोडेर हिँडेका रमेशका छोरा अहिले १४ वर्षका भए । बुवा कहिले फर्किनु हुन्छ भन्ने छोराको प्रश्नको उत्तर सिता सँग अहिले पनि छैन । बुवाका बारेमा सोधिएका प्रश्नको उत्तर दिन सक्दिन बरु आशु आउँछ । चाडपर्वमा त छोरो फर्केला कि भन्ने आस रमेशकी आमामा अझै छ ।

मलेसियाको सेलेङ्गर राज्यको एम के प्रेक्लस्टोन कटिङ्ग कम्पनीमा काम गर्न विष्ट कारावान म्यानपावर मार्फत मलेसिया पुगेका थिए । विष्टले सोही कम्पनीको अर्का डिएओ डाइ कास्टीङ कम्पनीमा समेत काम गरेका थिए । उनी सो कम्पनीमै कार्यरत छन् वा अवैधानिक रूपमा काम गर्न अरू तर्फ पुगे भन्ने जानकारी समेत उनको परिवारमा छैन । उनको भिसा लागेको कम्पनी मलेसियाको सेलेङ्गर राज्यको जलान कासावरी स्थित तेलोक पाङ्गलीमामा रहेको छ ।

सो कम्पनीमा कार्यरत नेपालीले विष्टको बारे जानकारी भए उनका परिवारमा जानकारी गराउन श्रीमती सिताले आग्रह गरेकी छन् । उनका परिवारले रमेशलाई परिवारको सम्पर्कमा ल्याइदिन मलेसियामा रहेका सङ्घ सस्था सँग समेत आग्रह गरेको छ ।