धरान : सङ्खुवासभाकाे खाँदवारीमा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड र स्वास्थ्य सामाग्री गायब बनाएको आरोपमा क्याम्पस प्रमुख पक्राउ परेका छन् ।

खाँदवारिमा रहेको हिमालय किरण क्याम्पसका प्रमुख मात्रिका तिम्सिनालाई प्रहरीले पक्राउ गरेको जनाएको हो । आज प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले प्रमुख तिम्सिना माथि आपराधिक उपद्रव गर्न नहुँने मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ । जिल्ला अस्पतालको किटानी उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । हराएको स्वास्थ्य सामाग्री भने अझै प्रहरीले फेला पार्न नसकेको जनाएको छ ।

अस्पताल प्रशासनका अनुसार आइसोलेसन प्रयोगका लागि राखिएका सामाग्री बिहीबार राति तोडफोड पछि हराएको थियो । करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । उनका अनुसार ७० पिपिई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाइडर लगायतका सामाग्री हराएको छ ।

अहिले आइसोलेसनमा ३ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिनेश श्रेष्ठले बताए । तोडफोड पछि नयाँ स्वास्थ्य सामाग्री लगेर ३ जना कोरोना सङ्क्रमितलाई राखिएको उनले बताए ।