धरान : धरान १८ को बुद्ध चोक स्थित कान्तिपुर होटेलमा १६ बर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवा पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नं४ स्थायी घर भएका हाल सुनसरी जिल्लाको रामधुनी नगरपालिका ७ झुम्का घर भएका ४६ बर्षीय मोहमद ईर्साद आलम रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिएका छन् ।

आलमले मोरङ घर भएकी १६ वर्षीय बालिकालाई यही साउन २६ गते ललाइ फकाइ गरी होटेलमा ल्याइ जबरजस्ती करणी गरेको भनी पीडितकी आमाले इलाका प्रहरी कार्यालय धरानमा भदौ ७ गते जाहेरी दिएको बस्नेतले बताए ।

इलाका प्रहरी कार्यालय पकलीसँग धरान प्रहरीले सहकार्य गरी आलमलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

लागुऔषध सहित एक जना पक्राउ
धरान १० का प्रतिक दाहाललाई लागुऔषध सहित धरान प्रहरीले पक्राउ गरेको छ ।

धरान १० घर भएका र सोही वडामा डेरा गरी बसेका २४ बर्षीय प्रतिक दाहालको कोठामा खानतलासी गर्दा रातो रङ्गको हाते झोला भित्र डाईजेल्याव २२ एम्पुल, लुपिजेसिक २२ एम्पुल गरी ६६ एम्पुल र २२ सेट लागुऔषध बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेका दाहाललाई जिल्ला अदालतबाट लागुऔषध मुद्दाको अनुसन्धानका लागि आज म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।