धरान : यौन गतिविधिको भिडियो बनाई बार्गेनिङ गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इटहरी-२ का २१ वर्षीय समीर मगर भनिने सन्दीप देवान र रामधुनी-५ का ३४ वर्षीय डन दाइ भन्ने गणेश दर्जी रहेका छन् । सुनसरी जिल्ला अदालतबाट उनीहरूलाई ठगी मुद्दामा ६ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको पलकीका इन्स्पेक्टर कैलाश अधिकारीले जानकारी दिएका छन् ।

धरान-१८ को बुद्ध चोक स्थित कान्तिपुर होटेलमा साउन २६ गते मोहम्मद इर्सद आलम र मोरङकी १६ बर्षीया बालिकासङ भएको यौन गतिविधिलाई देवान र दर्जीको मिलेमतोमा मोबाइल होटेलको कोठामा योजनाबद्ध ढङ्गले राखी यौन यौन गतिविधिको भिडियो खिचेको भनिएको छ ।

भिडियोलाई एक हप्ता लगाएर इडिट गरी छोटो बनाए पछि देवानले झुम्काको डाईमण्ड कम्प्लेक्स मोहम्मद इर्सद आलमलाई बोलाएर देखाएका थिए । भिडियो हेरेर आलम त्रसित भए ।

त्यही भिडियोलाई लिएर सार्वजनिक गर्ने भन्दै आलमसँग दुई जनाले बार्गेनिङ गरे । आलमले ३ लाख दिन तयार भए । पैसा दिने मिति तोके । तोकेको मितिमा आलमले ३ लाख तिर्न सकेनन् । १ लाख पचास हजार दिन्छु भने तर, उनीहरू १ लाख पचास हजार मात्र लिन मानेनन् । भिडियो सार्वजनिक गर्ने धम्की दिए । पैसा दिने भाका सार्दै आलमले ठगिएको भनी प्रहरीलाई उजुरी दिए ।

प्रहरीकोमा उजुरी पर्न साथ प्रहरीले अनुसन्धान सुरु गर्‍यो । भिडियो अनुसन्धान गर्दा शारीरिक सम्बन्ध राख्ने मोरङ घर भएकी १६ वर्षीय बालिका भएको खुल्यो ।

मोहम्मद इर्सद आलमले बालिकालाई ललाइ फकाइ गरी होटेलमा ल्याइ जबरजस्ती करणी गरेको भनी पीडितकी आमाले इलाका प्रहरी कार्यालय धरानमा भदौ ७ गते जाहेरी दिइन ।

त्यस पछि त्यही जाहेरीको आधारमा आलम पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । उनी सुनसरी भोक्राहा नरसिंह गाउँपालिका वडा नं ४ स्थायी घर भएका हाल सुनसरी जिल्लाको रामधुनी नगरपालिका ७ झुम्का घर भएका ४६ वर्षीय मोहम्मद ईर्साद आलम झुम्कामा एमके होमियो मेडिकल हल पनि सञ्चालन गर्छन् ।

कानुनतः १८ बर्ष मुनिकालाई बालिका भनिन्छ । त्यसैले उनी उमेर नपुगेकी बालिका सङ्ग यौन गतिविधि गरेको भन्दै पक्राउ परेका छन् । उनलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप भएपछि प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले बताए ।