धरान : विराटनगर-४ कञ्चनवारी एरियाबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ कटहरी-२ का २७ वर्षीय अभिसेक राय,२८ वर्षीय रविन शर्मा,२६ वर्षीय किसन साह यसै गरी सप्तरी बोधेबर्साइन-८ का २७ वर्षीय नन्द किशोर साह र भारत विहार राज्य सितामणी घर बताउने २७ वर्षीय राजु साह रहेका छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङले हिजो साँझ पक्राउ गरी आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पक्राउ परेकाहरूको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउन्ड गोली, १ थान को ३२ प ७५२५ नम्बरको मोटरसाइकल, विभिन्न कम्पनीको १६ थान मोवायल सेट , १ थान चक्कु, भारतीय बैङ्कको २ थान चेक र नगद नेपाली रुपैयाँ १८ हजार २० तथा भारतीय रुपैयाँ ४९ हजार ४ सय ५० समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यो समूहले सङ्गठित रूपमा आपराधिक समूह स्थापना गरी विराटनगरलाई आपराधिक कार्यकोस्थल बनाई व्यापारीहरूलाई हतियार देखाएर पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाक धम्की दिई रकम असुल्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । साथै पक्राउ परेका पाँचै जना उपर हातहतियार खरखजना, आपराधिक लाभ, चोरी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा कारबाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

साथै मोरङको विभिन्न स्थानहरूबाट मोबाइल हराएको तथा चोरी भएको भन्ने विभिन्न व्यक्तिहरूले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा ५३ थान मोबाइल सेटहरू समेत फेला पारी आजै सम्बन्धित धनीहरूलाई बुझाइएको उक्त कार्यालयले जनाएको छ ।