धरान : सुनसरी जिल्लामा लागु गरिएको निषेधित क्षेत्र घोषणालाई केही समयका लागि खुकुलो गर्ने निर्णय भएको छ ।

अझै पनि कोरोना सङ्क्रमितको सङ्ख्या घट्नुको साटो बढी रहेको भए पनि बाध्यात्मक मापदण्ड पालन गर्ने गरी आज राति १२ बजेबाट खुकुलो पार्ने जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले निर्णय गरेको हो ।

बैठकले अर्को निर्णय नभएसम्मको लागि निषेधित क्षेत्र खुकुलो बनाउने निर्णय गरेको एक सूचना जारी गरी जानकारी गराएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलका अनुसार स्वास्थ्य प्रोटोकल पालना गर्दै जिल्लाभर बिहान १० बजेसम्म पसलहरू खोल्न दिने निर्णय भएको छ । तर, हाट बजारहरू भने पुर्णरुपमा बन्द नै रहने छन् । सैलुन, ब्युटी पार्लर, स्पा, व्यायमशालाहरु पनी सञ्चालन गर्न पाइने छैन ।

बिहान १० बजेसम्म खुल्ने पसलमा भौतिक दुरी २ मिटर कायम गर्नुपर्ने, सर्वसाधारणले मुल्यसुची देखिने गरी अनिवार्य राख्ने, अनिवार्य मास्क र पन्जा प्रयोग गर्नेलगायत नियम पालना गर्नुपर्ने सूचनामा उल्लेख छ । पसलमा बस्ने व्यापारीले अनिवार्य मास्क, पन्जा लगाउनुपर्ने , मास्क पन्जा नलगाई आउने ग्राहकहरूलाई सामान विक्रिवितरण नगर्न सूचनामा भनिएको छ ।

त्यसै गरी डिपार्टमेन्ट स्टोरहरूले गेटमा थर्मल गनले ग्राहको तापक्रम नाप्ने व्यवस्था गर्नुपर्नेछ । होटेल तथा रेष्टुरेष्टहरुले अनलाइन अर्डरमा होम डेलिभरी गर्न पाउने तथा ग्राहक स्वयम आएर प्याकिङ गरेर लैजान पाउनेछन् । होटेलमा भेटघाट तथा जम्मा हुन भने पाइनेछैन ।

राती ९ बजेदेखि बिहान ५ बजेसम्म डिडडुल गर्न प्रतिबन्ध लगाइएको छ । एक स्थानमा जम्मा भई भेला हुन, जुलुस, सम्मेलन, गोष्ठी, भोज, हाट, मेला, पार्टी महोत्सव गर्न प्रतिबन्ध लगाइएको छ । बैठकले सिटी सफारीलाई सञ्चालन गर्न जोरबिजोर प्रणाली अनुसार सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ ।

सिटिसफारीलाइ हरेक दिन डिस्इन्फेक्सन गर्नुपर्ने, चालकले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, प्रवेश गर्नुपुर्व यात्रुलाई अनिवार्य सेटिनाइजर उपलब्ध गराउने, २ जना भन्दा बढी यात्रु राखेर चलाउन नपाउने भनिएको छ । यसै गरी वित्तीय संस्था तथा बैंकहरूकालागि भने नेपाल सरकारको पूर्व निर्णय अनुसार कार्यालयमा भिडभाड नहुने गरी सञ्चालन गर्नुपर्ने छ ।

कोरोना संक्रमणदर निरन्तर बढिरहेकोले जिल्लामा लागु गरिएको निषेधित क्षेत्र घोषणा पुर्णरुपमा भने नहटाइएको र केही खुकुलो मात्रै गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने अवस्था हेरेर पुनः पुर्णरुपमा फेरि निषेधित क्षेत्र पनि घोषणा हुन सक्छ ।

CDO-Suchana-2

CDO-Suchana-2 1