बिराटनगर : इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्की भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागिय मूल्य,मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ, अवैध हातहतियारद्वारा व्यक्ति हत्या जस्तो जघन्य अपराधको घटना घटाई लुकीछिपी बसेको अभियुक्तलाई खोजतलास गरी पक्राउ गर्न सफल भएका थिए ।

हातहतियार सहित पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भई आम सर्वसाधारण नागरिकहरूलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा सुरक्षाको अनुभूति अभिवृद्धि गर्ने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय ऐसेलुखर्क खोटाङमा कार्यरत प्रहरी जवान दिनेश कार्कीलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७७ साल भाद्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तर सम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिँदै आईएको छ ।