धरान : सुनसरी र खोटाङको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

सुनसरी हरिनगर ४ बस्ने ३५ वर्षीय दिनेश मण्डलको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । गए राती उनैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई हरिनगर स्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।

पोलमा ठक्कर खाई नजिकै रहेको नहरमा मोटरसाइकल झर्दा सोही मोटरसाइकलले किचेर मण्डलको मृत्यु भएको भनी आफन्तले आज प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसै गरी उता खोटाङको केपिलासगढि २ कुदुङ बस्ने ६० बर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन । बुधवार अपरान्ह ५ बजे उनी घरबाटै हराएको भनी आफन्तले प्रचौ खार्ताम्छामा खबर गरेका थिए ।

घटनाको जानकारी पाउनसाथ आफन्त सहित खोजतलासमा खटिएको प्रहरी टोलीले आज बिहान ८ बजे उनकै घर देखी करिब १२ सय मिटरमा रहेको ताप खोलाको बगरमा ठकुरीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

उनको शव बगरको ढुङ्गामा अड्किएको अवस्थामा रहेको र घटना सम्बन्धमा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।