धरान : धरान प्रहरीले खैरो हेरोइनको कारोबारी तथा ओसारपसार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

सप्तरीको पकरी २ घर भएर सुनसरीको इनरुवा नगरपालिका ३ मा बस्दै आएका ५२ वर्षीय राजकुमार सिंहलाई गए राति करिब ७ बजे धरान १० धनकुटे मार्गबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रहरीका अनुसार धनकुटे मार्गको पक्की सडक खण्डमा बुद्ध चोकबाट भोटेपुलतर्फ स्कोरपियोमा जाँदै गरेका उनलाई रोकेर चेक जाँच गर्दा खैरो हेरोइन बरामद भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार बा १५ च ९०८८ नम्बरको गाडीमा ड्राइभर बस्ने सिटमा रेग्जीन (खोल) को पछाडितर्फ भित्री भागमा प्लास्टिकको प्याकेटमा लुकाएर राखेको ७७ ग्राम खैरो हेरोइन बरामद भएको छ ।

गाडी सहित पक्राउ परेका उनलाई लागुऔषध ओसार पसार मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसै गरी मोरङको विराटनगर महानगरपालिका १६ बाट लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धरान १३ का ३४ वर्षीय रूपक कुमार राईलाई डाईजोलाप १० एम्पुल , लुपीजेसीक १० एम्पुल, फेनारगन १० एम्पुल र एभील १० एम्पुल सहित आज बिहान साँढे ९ बजे पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khairo-heroin-1