वि.सं २०२९ असार १ गते इलाका स्वास्थ्य चौकीको रूपमा स्थापना भएको हालको प्राथमिक स्वास्थ्य केन्द्र चतरा १५ शय्याको अस्पतालको रूपमा बिकास हुने क्रममा छ ।

वराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रले २०७५ सालको भाद्र १ गते देखि वर्षको ३६५ दिनै “ बिहान ७ बजे देखि बेलुकी ८ बजे सम्म निःशुल्क ओ पी डी सेवा” र आकस्मिक सेवा लगायतका बहिरङ्ग सेवा दिँदै आइरहेको छ ।

२४ सै घण्टा इमरजेन्सी , फार्मेसी, भिडियो एक्स(रे, प्रस्तुति सेवा सहित सुरक्षित गर्भ पतन लगायतका बहिरङ्ग सेवा प्रदान गरिरहेको प्राथमिक स्वास्थ्य केन्द्रले जिल्ला अस्पताल सरह सेवा दिई रहेको छ । नयाँ नयाँ योजना उपलब्ध गराउने नमुना स्वास्थ्य केन्द्रको परिचय बनाएको प्राथमिक स्वास्थ्य केन्द्र चतराकी कार्यालय प्रमुख स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर अन्जु थापासँग स्वास्थ्य केन्द्रको भावी योजनाको विषयमा सङ्गम विष्टले गरेको संक्षिप्त कुराकानी ।

कोभिड १९ कोरोना भाइरस महामारीको त्रास अहिले पनि उतिकै छ । कसरी सुरक्षित भएर सेवा प्रवाह गरिरहनु भएको छ ?
हामी स्वास्थ्यकर्मीको धर्म भनेको नै बिरामीहरूको उपचार गर्नु हो । कोभिड १९ कोरोना भाइरस महामारीको यो अवस्थामा हामी आवश्यक सुरक्षाका उपकरणको प्रयोग गरी सेवाग्राहीलाई सेवा प्रधान गरिरहेका छौँ ।

कसरी हुन्छ सहज र सुरक्षित तरिकाले हामीले सेवा प्रदान गर्न सकिन्छ भनेर प्राथमिक स्वास्थ्य केन्द्रका सम्पूर्ण तहका कर्मचारीहरू लागि परेको छौ । सम्पूर्ण स्वास्थ्यकर्मीले कोरोनाको खोप लगाएका छौ ।

सेवा लिन आउने सेवाग्राहीको संङख्या चैँ प्राथमिक स्वास्थ्य केन्द्रमा कस्तो छ ?
कोभिड १९ कोरोना भाइरस महामारी हुनु अगाडिको भन्दा स्वास्थ्य केन्द्र चतरामा सेवाग्राहीको संङख्या अलि घटेको नै थियो । तर पछिल्लो समय सेवाग्राहीहरू सेवा लिन संख्यात्मक रूपले बढी रहनु भएको छ ।

सेवाग्राहीहरूलाई पनि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरू संक्रमणको जोखिम हुने क्षेत्र भएकाले अति आवश्यक मात्र आउने गर्नु हुन्छ । औषधमा पहिला १ दिनमा १ सय ५० सेवाग्राही आउनु हुन्छ । हामीले प्रविधिको प्रयोग गरेर स्वास्थ्य केन्द्रको वेब साइटमा दैनिक जानकारीहरू लगाउने गरेका छौ ।

यो पनि देशभरका स्वास्थ्य संस्थाको हकमा नौलो कुरा हो । देशमा करिब ५,६ वटा मात्र स्वास्थ्य केन्द्रहरूले वेब साइटबाट यस्तो जानकारी प्रधान गर्छन् ।

स्वास्थ्य केन्द्रमा प्राय कस्ता रोगका बिरामी आउने गर्छन् ?
प्राथमिक स्वास्थ्य केन्द्र चतरामा प्राय मौसमी रोगका बिरामीहरू सेवा लिन आउने गर्छन् ।

प्राय ज्वरो, रुघा खोकी, तथा छाला रोगीका बिरामीहरू आउने गर्छन् । घाउ, खटिरा तथा फोहोर मैलाबाट उत्पादन हुने बिरामीको संङख्या पनि बढ्दो छ ।

महिलामा हुने समस्या पनि लिएर सेवाग्राही आउनु हुन्छ । लकडाउन भए यता गर्भपतन गर्ने महिलाको संङख्यामा बुद्धि भएको छ । लकडाउन हुनु अगाडि एक महिनामा औषधमा १० जना महिलाले सुरक्षित रूपमा गर्भ पतन गराउँथे भन्ने अहिले १ महिनामा बढेर ३० जना पुग्ने गरेको तथ्याङ्क छ ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउने प्रक्रिया कहाँ सम्म पुगेको छ ?
प्राथमिक स्वास्थ्य केन्द्र लाई १५ शय्याको अस्पतालको रूपमा विस्तार गर्ने प्रक्रिया अगाडि बढेको छ । शिलान्यास भइसकेको छ ।

नेपाल सरकारको कार्यक्रम अनुसार मंसिर १५ गते नै सुनसरी मोरङ सिचाइको जमिनमा शिलान्यास भइसकेको छ । पहिलो चरणको लागि नगरपालिकाले टेन्डर पनि लगाई सकेको छ ।

हाल सञ्चालनमा बाहेक सेवाहरू बाहेक नयाँ सेवा थप्ने योजना केही छ ?
अवश्य पनि छ । हामीले आँखा , नाक सम्बन्धी रोगको विशेषज्ञ सहितको सेवा प्रधान गर्ने योजनामा छौ ।

स्वास्थ्य केन्द्रसंगको साझेदारी कार्यक्रम अन्तरगत यी सेवा बिस्तार गर्ने पहल गरिरहेका छौ । आँखा सम्बन्धी रोगको सेवा चाडै हुन सक्छ ।

हामी लागि परेका छौ । त्यस्तै गएको दुई हप्ता देखि हप्ताको एक दिन हाड जोर्नी तथा नशा रोग विशेषज्ञ सेवा सुरु गरेका छौ ।

स्वास्थ्य केन्द्रले स्वास्थ्य बिमा गराउने कार्य कसरी गरिरहेको छ ?
नेपाल सरकारले सबै तहका नागरिकहरू सुलभ रूपमा स्वास्थ्यको पहुँच सम्म आइपुगुन् भनेर ल्याएको स्वास्थ्य बिमाको महत्त्व बुझाउन हामी लागि परेका छौ ।

स्वास्थ्य बिमाको महत्त्व बुझाउन घरदैलो देखि जनप्रतिनिधि सहयोगमा गाउँ गाउँमा पुगिरहेका छौ । १ र २ वडालाई पूर्ण स्वास्थ्य बिमा युक्त क्षेत्र बनाउने हाम्रो योजना छ ।

यसलाई कोभिड १९ ले प्रभावित बनाए पनि हामी फेरि सुरु गरेका छौ । २ वटै वडाको घर घरमा पुगेर स्वास्थ्य बिमा वारे जानकारी गराउने छौ । स्वास्थ्य बिमा गराउन आर्थिक रूपले समस्या परेका परिवारलाई हामी स्रोत खोजेर बिमा गर्ने छौ ।

स्वास्थ्य बिमा गराउने संङख्या वराहक्षेत्र १ र २ मा कस्तो छ ?
ठ्याक्कै वराहक्षेत्र १ र २ मा यति परिवारले स्वास्थ्य बिमा गराएको तथ्याङ्क नरहे पनि करिब ६० देखि ७० प्रतिशत परिवारले बिमा गराएका छन् ।

औषधमा एक दिनमा १ सय जना उपचार गर्न आउँदा ७० जना बिमित सेवाग्राही आउनु हुन्छ । हाम्रो लक्ष्य ९० प्रतिशत भन्दा बढी पुराउनु हो ।

अन्त्यमा स्वास्थ्य केन्द्र चतराको भावी योजना के के छन् ? प्रस्ट पार्दिनुस् न
पहिलो त प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल बनाउनु योजना छ , आँखा , नाक सम्वन्धी रोगको उपचार , फिजोयोथेरापि , ल्याब बिस्तार सँगै वडा नं १ र २ लाई पूर्ण रूपमा स्वास्थ्य बिमा युक्त वडा बनाउनु हाम्रो भावी योजना छ ।