धरान : नेकपा प्रचण्ड माधव समूहले आह्वान गरेको नेपाल बन्दका बिच युमा साम्यो महासभाले आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ ।

आगामी वर्ष हुने राष्ट्रिय जनगणनामा युमा धर्म लेख्न आग्रह गर्दै महासभाले स्थापना दिवस मनाएको हो ।बिहीबार धरानमा महासभाको विषयगत समिति पेगिफाङसाम चुम्लुङ सुनसरीको आयोजनामा सांस्कृतिक झाँकी रे्याली सहित नगर परिक्रमा पश्चात् युमा धर्म विधिअनुरूप सांस्कृतिक अनुष्ठानहरू सम्पन्न गरिएको महासचिव डा। रमेश इजमले बताए ।

याक्थुङ लिम्बु समुदायको मौलिक धर्म युमा धर्मअनुसार लिम्बुवानको राजधानी विजयपुरमा पुगेर पूजा अनुष्ठानहरू सम्पन्न गर्ने काम भयो । तुत्तु तुम्याहाङ, येबा, फेदाङ्मा, साम्बा, युमा साम, सिङ्साङ्गे फेरेङ्गेहरूको उपस्थितिमा युमा हेना, ताप्फेङ, साक्मुरा वादेम्मा र नाहेन साक्मा आदि अनुष्ठानहरू गरेको उनले बताए ।

अनुष्ठान अघि झाँकी रे्यालीले नगर परिक्रमा गरी बुढासुब्बा हुँदै विजयपुर दरबार परिसर पुगेको थियो । अनुष्ठान पछिको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महासभाका केन्द्रीय अध्यक्ष देवेन्द्र वनेमले आगामी राष्ट्रिय जनगणनामा युमा धर्म लेख्नेहरूको सङ्ख्या बढिरहेको बताए ।

‘मौलिक याक्थुङ पहिचानमा विश्वास गर्नेहरू सङ्गठित हुने क्रम जारी छ । त्यसैले पनि पिता पुर्खाहरूले मानिल्याएको मार्ग भनेकै युमा धर्म हो,’ उनले भने, ‘हामी धर्मको महलमा युमा लेख्न सबैलाई आह्वान गर्छौँ ।’

उनले कार्यक्रम स्थलमा आगामी वर्षको जेठ–असारमा हुने १२ औँ राष्ट्रिय जनगणनालाई लक्षित गरेर गठन भएको १५,५५१ सदस्यीय युमा धर्म प्रचार प्रसार महासमिति पनि घोषणा गरेका थिए । कार्यक्रममा मौलिक संस्कार संस्कृतिका रूपमा रहेको यालाङ, केलाङ, पाःलाम, हाक्पारेहरू पनि प्रस्तुत गरिएको पेगिफाङसाम चुम्लुङ सुनसरी अध्यक्ष येबा सन्चवीर नाल्वोले बताए ।

धर्म परिवर्तन, बाह्य र आन्तरिक सांस्कृतिक अतिक्रमणलाई रोक्न भन्दै २०७४ माघ २२ गते युमा साम्यो महासभाको स्थापना भएको केन्द्रीय सचिव भीमसेन लिङ्दमले उल्लेख गरे ।

उनले तीन वर्षको गतिविधिको समीक्षा गर्दै युमा साम्यो पक्षधरका कारण मौलिक पहिचानको मुद्दा सतहमा आएको र मुन्धुमको गम्भीर अध्ययनको संस्कृति सुरु भएको प्रतिक्रिया दिए । उनले भने, ‘मौलिकताको कुराले ठोस रूप लिएको छ ।

बहस हाकाहाकी र सतहमा आएको छ । मुन्धुमी र पुरातात्त्विक सम्पदाको संरक्षणको कुरा जोडले उठेको छ ।’ सचिव लिङ्दमले तुत्तु तुम्याहाङ र पेगिफाङसामहरूको भूमिका झन् झन् बढेर गएकोमा खुसी व्यक्त गरे । यसै गरी, महासचिव डा. इजमले मौलिकतालाई प्राज्ञिक क्षेत्रमा अध्ययनको विषय बनाउन मुन्धुम हिम र मुन्धुम विश्वविद्यालयको अवधारणा अगाडी सारेको बताए ।

उनले युमा साम्योको अभियानले समुदायमा नव जागरण र सांस्कृतिक पुनः जागरणको थालनी भएको टिप्पणी गरे । महासभाले मूर्त अमूर्त सम्पदाको संरक्षणका लागि गत साल नै अवधारणा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारहरूलाई ज्ञापन पत्र बुझाएको बताए ।

युमा साम्यो महासभाको सङ्गठन अरूणपूर्वका नौ जिल्ला, गाउँ, नगर, वडा र प्रवासका दर्जन बढी मुलुकहरूमा पुगिसकेको अभियन्ता देव सुब्बाले जानकारी दिए । महासभाका करिब २५०० बढी सङ्गठित सदस्यहरू आबद्ध रहेको सुब्बाले खुलाए ।

उनले किरात याक्थुङ चुम्लुङले किरात धर्म लेख्न सार्वजनिक रूपमा आह्वान गरिसेको भएता पनि आफूहरू युमा धर्मको प्रचार अभियानलाई अझ तीव्र बनाउने योजनामा रहेको बताए ।