धरान : नेपालमा कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा चलेपछि हङकङ सरकारले नेपालबाट आउने हवाई उडानमा प्रतिबन्ध लगाएपछि हङकङ फर्किन नपाएका हङकङको परिचयपत्र लिएका नेपालीहरूलाई उद्धार गर्न हङकङ नेपाली महासङ्घले माग गरेको छ ।

महासङ्घले हङकङ सरकारका पुर्वमन्त्री र सांसदहरूलाई नेपालबाट उद्धार गर्न माग गर्दै बिहीबार ज्ञापन पत्र बुझाएको हो । महासङ्घका अध्यक्ष टङ्क रानाकाअनुसार महासङ्घको अनुरोधपछि हङकङको कउलुन जिल्लाको नाथ्न रोड मङकोकस्थित महासङ्घको कार्यालयमै आएका हङकङ सरकारका पूर्व मन्त्री तथा वर्तमान सांसद स्ट्यारी ली, सांसद भिन्सेन्ट चाङलगायत सांसदहरूले ज्ञापन पत्र बुझेका थिए ।

उनले भने, ‘नेपालका कोरोनाको दोस्रो लहर चलेसँगै हङकङ सरकारले नेपालको हवाई जहाज उडानमा प्रतिबन्ध लगाएपछि हङकङलाई कर्म भूमि बनाएका नेपाली मूलका हङकङ्गे नागरिकहरू बिचल्लीमा परेकाले तत्काल उनीहरूको उद्धार गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका छौ ।

महासङ्घका पूर्व पदाधिकारीहरू रिता गुरुङ, प्रदीप थापा, हङकङ चेमबर अफ कमर्सका अध्यक्ष दासुराम पराजुली, समाजसेवी पुष्पा गुरुङ, हेजेन राईलगायतको उपस्थितिमा हङकङ सरकारलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘हङकङ सरकारले केन्द्रीय सरकार (चिन) सँग समन्वय गरेर लकडाउनले नेपालमा रोकिएका हङकङका नागरिकलाई छिटो भन्दा छिटो उद्धार गर्न चार्टर उडानको व्यवस्था गर्न माग गर्दछौँ ।’

नेपालको कुल जनसङ्ख्याको २ प्रतिशतले मात्र हालसम्ममा कोभिड खोप लिएकाले पनि असल र ऐतिहासिक सम्बन्ध रहेको छिमेकी भएको नाताले कोभिड खोपको पनि नेपालका लागि अनुदान स्वरूप उपलब्ध गराउन पनि महासङ्घले माग गरेको छ ।

महासङ्घका अध्यक्ष रानाले महासङ्घले बुझाएको ज्ञापन पत्र बुझेपछि पुर्वमन्त्री समेत रहेकी स्टारी लीलाई उद्धित गर्दै भने, ‘यस विषयमा हङकङ सरकार गम्भीर बनेको र नेपालमा बिचल्लीमा परेका हंङकङका नागरिकलाई उद्धार गर्नु आफ्नो सरकारको पहिलो प्राथमिकता रहेको छ ।’

सांसद भिन्सेन्टले हङकङका नागरिकलाई उद्धार गर्न र कोरोना खोपका लागि नेपाल सरकार र चिनिया (हङकङ) सरकार बिच जी टु जी गर्न नेश्नल पिपल कङ्ग्रेस (एनपिसी)मा हङकङको वरिष्ठ लियाजन अफिसर मार्फत समन्वय गरेर नेपाललाई सहयोग गर्न सकिने जानकारी दिएको अध्यक्ष रानाले बताए ।

महासङ्घले यसअघि हङकङका कार्यकारी प्रमुख क्यारी ल्यामलाई पनि हङकङका नागरिक कोरोनाका कारण नेपालमा बिचल्लीमा परेको बारे पत्र दिएका थिए । तर उनी केही सातादेखि बेइजिङमा रहेकाले पुन हङकङ सरकारका सांसदलाई पत्र बुझाउनु परेको महासङ्घले जनाएको छ ।

पूर्व अध्यक्ष प्रदीप थापाले भने, ‘हङकङलाई कर्मथलो सँगै त्यहीका नागरिक भएर बसेकाहरूले व्यापार व्यवसाय गर्न बैंक ऋण लिएका छन्, छोराछारीहरु पढाइरहेका छन् । तर लकडाउनले यता न उताका भएका छन् । खोप लगाउन पाएका छैनन् । यिनै समस्याबारे हङकङ सरकारलाई महासंघसले औपचारिक जानकारीसहित ज्ञापन पत्र बुझाएको हो ।’

क्यारी ल्यामका प्रमुख सचिव जोन लीले जुलाई १४ भित्र सांसद स्टारी लि र भिन्सेन्ट चेङसंग छलफल गरेर निर्णय गर्ने जानकारी दिएको अध्यक्ष रानाले बताए । हङकङमा ७० हजार नेपालीहरू हङकङका बासिन्दा भएर बसेका छन् ।

गत साता मात्र महासङ्घले नेपालका विकट गाउँका कोरोना सङ्क्रमितहरूलाई लक्षित गरेर चिनिया सरकार, हङकङक सरकार, नेपालको महावाणिज्य दूतावासको समन्वयमा हङकङको गैर सरकारी संस्था सोअर एक्सनले करिब ६ करोड रुपैयाँ बराबरको २ सय थान अक्सिजन कन्सनट्रेटर निःशुल्क उपलब्ध गराको थियो ।

ती मध्ये सय थान कन्सनट्रेटर कर्णाली, सुदूरपश्चिम देखि रामेछाप सम्मका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा वितरण जारी छ ।