झापा : झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

गए राति साढे १० बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक-९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक झापाको कनकाई नगरपालिका-३ का ४३ वर्षीय पूर्ण बहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार सोही स्थानकी ३६ वर्षीय भिमा विष्ट गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेको थियो ।

ठक्कर दिएर भागेको ट्रक र चालकलाई राति नै दमक प्रहरीले आफ्नो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।