धरान : बुधवार साँझ धरान-४ स्थित धरान भेडेटार सडक खण्डमा पर्ने जङ्गल क्षेत्रमा जेब्रा झोलाभित्र टाउको र एउटा खुट्टा भेटिएको शवको अझै पहिचान खुलेको छैन । 

उक्त शवको जीउ र अन्य अङ्गहरू बिहीबार बिहान हिजो भेटिएको टाउको र खुट्टाको बाँकी भाग टाउको र खुट्टा भेटिएको स्थान भन्दा करिब १ किलोमिटर माथि बाँकी शरीर भेटिएको थियो ।  बुधवार भेटिएको घाँटीभन्दा माथिको टाउकोको भाग र तिघ्रा मुनिको दाहिने खुट्टा थियो । बाँकी अङ्ग खोज्न इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायको कमान्डमा खटिएको टोलीले आज बिहान फेरी पनि अर्को जेब्रा झोलामा प्याक गरेको अवस्थामा बाँकी शरीरको भाग भेटेको थियो । 

दुई दिनमा दुई स्थानमा झोलाभित्र प्याक गरेर फालिएको पुरुषको शव भेटिए पनि उनी को हुन् भन्ने पहिचान अझै खुलेको छैन । पहिचान हुन नसकेपछि प्रहरीले नै ती पुरुषको अनुहार प्रस्ट देखिने तस्बिर सार्वजनिक गर्दै सनाखतको लागि सहयोग गर्न अपिल गरेको छ । प्रहरीका अनुसार शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । 

बुधवार देखि सनसनी मच्चिएको यो घटना निकै रहस्यमय भएको सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल बताउँछन् । अहिले सो घटनाको अनुसन्धानका लागि सङ्घीय इकाई प्रहरी कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली परिचालित छ । भेटिएको शवको पहिचान हुन नसक्दा अनुसन्धानमा पनि निकै समस्या भएको प्रहरीले बताएको छ । 

घटनाको प्रकृति हेर्दा प्रिप्लान मर्डर हुन सक्ने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवर बताउँछन् । अन्त कतै पूर्व योजना अनुसार हत्या गरिएको र शरीरको भाग छुट्टाएर फालिएको अवस्था प्रारम्भिक अनुसन्धानले देखाएको छ । करिब ४० वर्षको हाराहारीको उमेर देखिने सो पुरुष आर्य समुदायको जस्तो देखिएको प्रहरीले बताएको छ । उनको हत्या के कस्तो हतियारले गरिएको हो भन्ने बारेमा फरेन्सिक जाँच पछि खुल्ने बताइएको छ । 

मानिसको शरिरनै अलग अलग गरेर झोलामा प्याक गरी फालिएको अवस्थामा भेटिएको यो घटनाको प्रहरीले गम्भिररुपमा अनुसन्धान सुरु गरेको बताएको छ । अनुसन्धान सुधारोन्मुख रहेको बताइएको छ । मृतकको पहिचानका लागि प्रहरीले छिमेकी जिल्लाहरूमा समेत प्रहरीले पहलकदमी गरिरहेको डिएसपी कुँवरले बताए । मृतकको शवको तस्बिर पहिचानका लागि प्रहरीले सार्वजनिक समेत गरेको छ । 

Sab-a