इनरुवा : नेकपा माओवादी केन्द्रका प्रदेश एकका नेता चन्द्रबहादुर कार्की पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
शनिवार इनरुवामा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेताहरूले माओवादी केन्द्रका नेता चन्द्रबहादुर कार्कीलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन ।
२०६० सालदेखि २०६३ सालसम्म सुनसरीबाट पक्राउ गरी मोरङ कारागारमा जनयुद्धका सशस्त्र लडाकुका रूपमा तत्कालीन सरकारले जेलमा राखेका नेता कार्की सुनसरी माओवादी भित्रका वैचारिक एवम् अगुवा नेताका रूपमा परिचित रहँदै आएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता कार्कीले लामो समय नेकपा माओवादीको आन्दोलनमा भूमिगत हुँदै जेल जीवन बिताए पनि माओवादी भित्र बढ्दै गएको व्यत्तीवादी प्रवृत्ति र गलत चिन्तनका कारण कम्युनिस्ट विचार सिद्धान्त समाप्त भएको ठहर गरी नेकपा एसमा प्रवेश गरेको बताए ।
२०३७ सालमा रघुपति जुटिलमा भएको तिन महिने भोक हडतालको अगुवाइ गरेका नेता कार्कीले गणतन्त्र र समाजवाद स्थापनाका लागि हजारौँ हजार नेता कार्यकर्ता र लाखौँ जनताले गरेको सहर्ष माओवादीले सत्ता प्राप्तिका लागि बिर्सेकाले आफूले अहिलेको परिवेशमा नेकपा एसलाई सही ठहर गरी प्रवेश गरेको बताए ।
नेकपा एस सुनसरीका अध्यक्ष गोविन्द निरौलाले कम्युनिस्ट आन्दोलनमा उहाँले पुर्‍याएको योगदानको कदर गर्दै प्रदेश कमिटीको सल्लाहकारमा जिम्मेवारी दिएर पार्टीमा उहाँलाई सम्मान गरिएको बताए ।
कार्यक्रममा नेकपा एसका पोलिटव्युरो सदस्य तथा सुनसरी इन्चार्ज महफुज आलम अन्सारी, केन्द्रीय सदस्य केशव विष्ट, केन्द्रीय परिषद् सदस्य शम्भुप्रसाद आचार्य, सागर तिम्सिना, सिताराम घिमिरे, सिएन पाठक प्रदेश तथा जिल्ला नेताहरूको सहभागिता रहेको थियो।