धरान : धरानमा पछिल्लो समय अपराधीहरूको सुरक्षित स्थान जस्तै बन्दै गएको छ ।

आपराधिक घटना घटाउन र अपराध गरेपछि सुरक्षित व्यवस्थापन गर्ने थलोकोरुपमा अपराधीहरूले धरान र धरान आसपासको क्षेत्रलाई प्रयोग गर्न थालेका छन् । धरानमा पछिल्लो समय जेब्रा झोलामा शरीर र टाउको अलग अलग राखेर फालिएको घटना सेलाउन नपाउँदै धरानमा फेरी एक महिलाको होटलमा हत्या भएर उनीसँगै बसेका पुरुष फरार रहे । तर यी दुवै घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न भने सफल भएको छ । 

धरानको प्रवेशद्वार तीनकुनेमा प्रहरीको कडा निगरानीको बाबजुद पनि धरान-भेडेटार सडक खण्ड अन्र्तगत पर्ने जङ्गलमा जेब्रा झोलामा शरीरको भाग अलग अलग गरेर सुरक्षित तरिकाले शव व्यवस्थापन गर्न अपराधीले प्रयास गरेको थियो । यो घटनाले धरान प्रहरीलाई निकै ठुलो समस्या सिर्जना गरायो।

शवको पहिचान हुन नसक्दा प्रहरीले शवको स्केच बनाएर सार्वजनिक गर्नुपर्‍यो भने अनुसन्धानको लागि इन्टरपोलको समेत सहयोग लिनुपरेको थियो। अन्ततः शव इलामको साबिक बाझो-१ बस्ने तर उनको पासपोर्टमा झापाको दमक नगरपालिका वडा नं. ५ उल्लेख भएका दिनेश सिग्देल भएको प्रहरी सनाखतबाट खुल्यो । 

उनी बहराइनबाट जनवरी ४ मा नेपाल आएका थिए । उनको धरान बाहिर हत्या गरेर धरान-४ स्थित धरान भेडेटार सडक खण्डको जङ्गलमा ल्याएर दुई वटा झोलामा राखेर फालिएको थियो । घटनामा मृतकका कान्छी श्रीमती ३० वर्षीय अनिता केसी र उनको प्रेमी २९ वर्षीय सरोज भण्डारीले हत्या गरेको खुल्यो । विराटनगरमा हत्या गरेर शवको व्यवस्थापन गर्न धरानलाई रोजियो । 

यसै गरी केही दिन अघि मात्रै धरान-१८ स्थित न्यु कान्तिपुर होटल एण्ड रेस्टुरेन्टमा इटहरी बस्दै आएकी सुमित्रा तामाङको हत्या भयो । उनीसँगै होटलमा बस्न आएका युवा भने हत्या पछि फरार भए । तर प्रहरीले महिलाको हत्यामा संलग्न धनकुटाको पाख्रिवास ६ फलाँटेका २४ वर्षीय दिनेश राना मगरलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्‍यो ।

उनको अदालतबाट म्याद थप गरेर प्रहरीले आफ्नो अनुसन्धान अघि बढाइरहेको छ। यी दुई घटनाले धरान अपराधीको सुरक्षित गन्तव्यकोरुपमा विकास हुन थालेको हो की भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापा भने यसलाई अपराधीको सुरक्षित गन्तव्य नै चाही भन्न नमिल्ने बताउँछन् । विगतमा पनि धरानमा आपराधिक घटना भएका थिए ।

तर २०७० साल यता यस्ता आपराधिक क्रियाकलाप घटिरहेको अवस्थामा पछिल्लो समय धरानमा घटेका घटनाले भने धरान अपराधीको सुरक्षित गन्तव्य बनेको हो की भन्ने आभास दिलाएको उनले बताए । तर यस्ता आपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणमा नेपाल प्रहरी लागि परेको पनि उनले दाबी गरे।