धरान : माया प्रेम भन्दा ठुलो केही हुँदैन भनिन्छ । तर धरानमा पछिल्लो समय घटेका दुई घटनाले प्रेममा घात भएर दुई ठुला घटना भएको देखाएको छ ।  

फागुन महिना भित्रै धरानमा दुई वटा हत्याका घटनाले सबैको ध्यान तान्यो । विराटनगरमा हत्या गरेर धरान-४ स्थित धरान भेडेटार सडक खण्डको जङ्गलमा टाउको र खुट्टा एउटा झोलामा र बाँकी शरीर अर्को झोलामा भेटिएको घटनाले निकै चर्चा पायो ।

हप्ता दिन सम्म पनि शवको पहिचान हुन नसक्दा प्रहरीले शवको स्केच गरेर समेत सार्वजनिक गर्नुपरेको थियो । अलग अलग जेब्रा झोलामा भेटिएको शवको पहिचान ६ दिन पछि खुलेसँगै प्रहरी हत्यारालाई पक्राउ गर्न सफल भयो । घटनामा मृतकका कान्छी श्रीमती ३० वर्षीय अनिता केसी र उनको प्रेमी २९ वर्षीय सरोज भण्डारीले हत्या गरेको खुल्यो । यो घटनामा पनि माया प्रेमकै कारण हत्या भएको देखियो । 

यसै गरी अर्को घटना धरान-१८ स्थित न्यु कान्तिपुर होटल एण्ड रेष्टुरेन्टको १०९ नम्बर कोठामा एक महिला मृत फेला परे । प्रहरीले शवको पहिचान भएर उठाउँदा महिलाको शरीरमा चोट पटक देखिएको र उनीसँग एक पुरुष पनि होटेलमा सँगै बसेको खुलेको थियो । महिला इटहरी ५ तुलसा टोलकी सुमित्रा तामाङ भएको खुल्यो ।

उनीसँगै होटेलमा बसेका पुरुष फरार थिए । निकै ठुलो अनुसन्धान पछि फरार पुरुष सम्म प्रहरी पुगेरै छाड्यो । होटेलमा सँगै बसेर हत्या गरी फरार रहेका धनकुटाको पख्रिबास नगरपालिका-६ फलाँटेका २४ वर्षीय जीवन र राम भनिने दिनेश राना मगरलाई धनकुटा प्रहरीको सहयोगमा शनिवार पक्राउ परे ।

घरमा श्रीमती  र दुई छोराहरू हुँदा हुँदै पनि अन्यन्त्रै प्रेमिका बनाएका  दिनेशले  सुमित्रालाई अन्जान पुरुषको फोन आएको निहुँमा  झगडा परेको र आफू आवेगमा आएर  घाँटी थिचेर र कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक बयानमा दिनेशले स्वीकारेको प्रहरीले जनाएको छ । 

आइतबार इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलनको आयोजना गरी हत्यारा दिनेश राना मगरलाई सार्वजनिक गरेको छ । जिल्ला अदालत सुनसरीबाट ज्यान मार्ने कसुरमा दिनेशलाई ५ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले बताए । 

पछिल्लो समय धरानमा घटेका यी दुई घटना पहिले माया प्रेम अनि माया र प्रेममा खटपट आएपछि हत्या गरेको खुलेको छ ।